काठमाडौं, साउन १९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीचको छलफल बिना निश्कर्ष टुंगिएको छ । असार १३ गते स्थगित भएको स्थायी कमिटी बैठकपछि गरिएको गुट भेलालाई बैधानिकता दिनुपर्ने प्रचण्डको प्रस्तावलाई प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले ठाडै अस्वीकार गरेपछि छलफल बिना निश्कर्ष टुंगिएको हो ।
असार १३ गतेको बैठक स्थगित र गुट भेलापछि निकै चिसो बनेको दुई अध्यक्षबीच हिजो आइतवारबाट संवादहीनता तोडिएको हो । हिजोको छलफलमा खुला खुलस्त कुरा गर्नुभएका दुई अध्यक्षबीच आज सचिवालय बैठक बस्ने कि स्थायी कमिटी बैठक बस्ने भन्नेमा सहमति हुन सकेको छैन । आजको छलफलमा अध्यक्षद्वयसँग बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी हुनुभएको थियो । प्रचण्डको तर्फबाट खनाल र ओलीको तर्फबाट नेम्वाङ साँक्षीका रुपमा बार्तामा सहभागी हुनुभएको हो । आज अध्यक्षद्वय ओली र प्रचण्डबीच दुई सहयोगीसहित डेढ घण्टा छलफल भएको नेकपा केन्द्रीय प्रचार बिभागका उपप्रमुखसमेत रहनुभएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनताटाइम्सलाई जानकारी दिनुभयो । थापाका अनुसार दुई अध्यक्षबीच पार्टीभित्रको समस्यालाई कसरी सहमतिमा हल गर्न सकिन्छ भनेरै कुराकानी अघि बढेको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार आजको बार्तामा अध्यक्ष ओलीले सचिवालयको निर्णयअनुसार आफूहरुले प्रस्ताव तयार गरी केन्द्रीय सचिवालयको बैठक राखेर निर्णय गर्ने र सचिवालयको प्रस्तावलाई स्थायी कमिटी बैठकमा लिएर जाने धारणा राख्नुभएको छ । अध्यक्ष प्रचण्डले भने सचिवालय बैठक बस्न अनिच्छा जनाउँदै स्थायी कमिटीको बैठक राख्नुपर्ने बताउनु भएको छ । ‘सचिवालयको निर्णयअनुसार प्रस्ताव तयार पारौं, सचिवालय बैठक बसौं, त्यहाँ निर्णय गरेर साझा प्रस्तावका रुपमा स्थायी कमिटीमा लिएर जाऊँ,’ बार्तामा प्रधानमन्त्री ओलीको भनाई उधृत गर्दै ती नेताले जनताटाइम्ससँग भने ।
ओलीको प्रस्तावपछि प्रचण्डले स्थायी कमिटी बैठक नै बसौं भन्दै असार १३ गतेको गुट भेलाको निर्णयअनुसार अघि बढनुपर्ने अडान राखेपछि थप छलफल अघि बढन नसकेको ती नेताको भनाई छ । हामीले असार १३ गतेको बैठकबाट स्थायी कमिटीकै अर्काे बैठक तोकौं भन्ने निर्णय गरेका छौं, पहिला स्थायी कमिटी बसौं, त्यसपछि सचिवालय बसौंला, बार्तामा प्रचण्डको भनाई थियो । जवाफमा अध्यक्ष ओलीले गुट भेलाको निर्णय नमान्ने घोषणासहित यस्तो असंभव कुरा नगर्न सुझाउनु भएको थियो । गुट भेलालाई कसरी मान्यता दिने भन्ने खेलमा नलाग्नोस, त्यो संभव छैन, आफ्नो बटमलाइन सुनाउँदै प्रचण्डसँग ओलीको जवाफ थियो ।
गुट भेलालाई मान्यता दिलाउने प्रचण्डको त्यो प्रस्तावको कारण आजको बार्तामा केही बिवाद जस्तो देखिएपछि भोलि ५ बजे पुनः छलफल गर्ने गरी आजको बार्ता बिनानिश्कर्ष टुंगिएको छ । गुट भेलालाई बैठकका रुपमा कसरी मान्यता दिलाउन सकिन्छ भन्नेतर्फ प्रचण्ड लागेकोले सहमति जुटन नसके पनि खुमलटारतिरबाट प्रधानमन्त्री ओलीले म केही पनि छाडदिन, जे छाडने हो तपाईहरु नै छाडनोस भनेको भन्दै बालुवाटारमाथि आक्रमण गर्न थालेको छ । ‘प्रचण्ड कमरेड गुट भेलालाई कसरी मान्यता दिलाउने भन्ने खेलमा लाग्नुभएको प्रष्टै देखियो, त्यो संभव छैन,’ प्रधानमन्त्री ओलीको बटमलाइन सुनाउँदै बालुुवाटार स्रोतले भन्यो ।
प्रतिक्रिया दिनुहोस्