जनता टाइम्स

२८ श्रावण २०७७, बुधबार १६:३९

पछिल्लो २४ घण्टामा आठ जना कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ९१ पुग्यो


काठमाडौं, साउन २८

पछिल्लो २४ घन्टामा नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङका क्रममा बुधबार प्रवक्ता डा. जागेश्वर गौतमले आठ जनाको मृत्यु भएको जानकारी दिनुभयो । योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।

प्रवक्ताका गौतमका अनुसार काठमाडौं महानगरपालिका–१२ टेकु निवासी ७८ वर्षीय एक महिलाको आज विहान १ः१५ बजे किष्ट मेडिकल कलेजमा, धादिङ जिल्ला निलकण्ठ नगरपालिका–१४ निवासी ३२ वर्षीय एक पुरुषको हिजो ह्याम्स अस्पतालमा, धनुषाको जनकपुर उपमहानगरपालिका–१ निवासी ७१ वर्षीय पुरुषको आज मेडिसिटी अस्पतालमा निधन भएको हो ।

यस्तै, धनुषाकै जनकपुर उपमहानगरपालिका–८ निवासी ३८ वर्षीय महिला आज विहान १ः०५ बजे पाटन अस्पतालमा, सप्तरीको डाक्रेश्वरी नगरपालिका–८ घर भई राजविराज नगरपालिका–६ सिराह रोड बस्दै आएका ७२ वर्षीय एक पुरुषको हिजो राति, मोरङ जिल्ला बुढीगंगा गाउँपालिका–२ गंगा चोक निवासी ५५ वर्षीय एक पुरुषको आज विहान विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा, कपिलबस्तु जिल्ला कपिलबस्तु नगरपालिका–२ तौलीहवा निवासी ४२ वर्षीय एक पुरुषको आज विहान ४ः २५ बजे बुटवल कोरोना विशेष अस्पतालमा र बाराको कलैया उपमहानगरपालिका निवासी ७५ वर्षीय पुरुषको किष्ट मेडिकल कलेजमा आज विहान निधन भएको उहाले जानकारी दिनुभयो ।