जनता टाइम्स

३१ श्रावण २०७७, शनिबार १६:४६

ओली-मोदी फोनवार्ताले जगायो आशा : जुट्यो चाँडै दुई पक्षीय सम्बन्धमा छलफल गर्ने सहमति (बिज्ञप्तीसहित)


काठमाडौं, साउन ३१ । केही समयदेखि चिसोपन देखिएको नेपाल र भारतका प्रधानमन्त्रीबीच दुई पक्षीय सम्बन्धका बिषयमा निकट भविष्यमा छलफल हुने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग गर्नुभएको टेलिफोन बार्ताको क्रममा सो सहमति भएको हो ।

भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरको अवसरमा प्रधानमन्त्री ओलीले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन बार्ता गर्नुभएको हो । सो क्रममा दुई पक्षीय सम्बन्धमा निकट भविष्यमै छलफल गर्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

‘दुई देशका प्रधानमन्त्रीले निकट भविष्यमै दुई पक्षीय सम्बन्धका बारेमा छलफल गर्ने सहमति भएको छ’, नेपाल र भारतका प्रधानमन्धीबीचको सम्बावबारे परराष्ट्र मन्त्रालयले बिज्ञप्ती जारी गर्दै भनेको छ । परराष्ट् मन्त्रालयका अनुसार कुराकानीमा ओली र मोदीले १० अप्रिल २०२० मा भएको संवादको समेत सम्झना गर्नुभएको छ ।

मन्त्रालयका अनुसार आजको टेलिफोन कुराकानीका क्रममा ओली र मोदीबीच विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को असर काम गर्ने विषयमा छलफल भएको छ । कुराकानीका क्रममा दुई देशले कोरोना संक्रमण रोकथामका लागि गरिरहेको कामका बारेमा आफ्नो अनुभवसमेत साटेका छन् । दुई प्रधानमन्त्रीबीच कोरोना असर नियन्त्रणका लागि मिलेर अगाडि बढ्ने सहमतिसमेत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले भारतसहित विश्वका वैज्ञानिकले कोरोनाविरुद्धको खोप बनाउने र यसले कोरोना नियन्त्रणमा लिन सक्ने आशा व्यक्त गर्नुभएको छ ।  यसैगरी भारतीय विदेश मन्त्रालयले दुई प्रधानमन्त्रीबीचको कुराकानीमा नेपालका प्रधानमन्त्री ओलीले भारतको सहयोग निरन्तर राखि राख्न अनुरोध गरेको जनाएको छ ।