जनता टाइम्स

३२ श्रावण २०७७, आईतवार १९:३४

लगानी बोर्डका सीईओलाई काम गर्न उच्च अदालतले दियो अनुमति


काठमाडौं, साउन ३२

उच्च अदालत पाटनले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई काम गर्ने बाटो खुलाईदिएको छ । भट्टको योग्यता नपुग्ने भन्दै नियुक्ति बदर माग गरिएको रिटमा अन्तरिम आदेश जारी गर्ने उच्च अदालत पाटनले अस्वीकार गरेपछि काम गर्ने बाटो खुलेको हो ।

उच्चले आज भट्टलाई तत्काल कामकाज गर्नबाट रोक लगाउने यसअघिको आफ्नै आदेशलाई निरन्तरता दिन नपर्ने निर्णय गरेको छ । भट्टसँग लगानी बोर्डको सीईओ हुन आवश्यक पर्ने योग्यता नभएको दावी गर्दै परेको रिटमा प्रारम्भिक सुनवाइ गर्दै २७ साउनमा उच्च अदालतले तत्काल कामकाज गर्न रोक लगाएको थियो ।

अन्तरिम आदेश दिने–नदिनेबारे दुवै पक्षको कुरा सुनेर निर्णय दिने भन्दै उच्च अदालतले आज दुवै पक्षलाई छलफलमा बोलाएको थियो । उच्च अदालतका न्यायाधीशहरू ईश्वरराज आचार्य र ठाकुरप्रसाद शर्मा पौडेलको इजलासले दुवै पक्षलाई सुनेपछि भट्टलाई कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश नदिने निर्णय गरेका हुन् । अब भट्टले सीईओको रूपमा कामकाज गर्नसक्नेछन् । यद्यपी उनको योग्यतामा प्रश्न उठाइएको रिट भने उच्च अदालतमा विचाराधिन नै रहनेछ ।