जनता टाइम्स

१ जेष्ठ २०८२, बिहीबार १०:१०

शोभाकान्त पौडेल सचिवमा बढुवा


काठमाडौं । सरकारले सहसचिव शोभाकान्त पौडेललाई सचिवमा बढुवा गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गरेको एक मन्त्रीले जानकारी दिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले अवकाश पाएपछि सचिव पद रिक्त थियो। निजामती सेवामा ३८ वर्षे यात्रा पूरा गरेका सिंह ५८ वर्षे उमेर हदका कारण अघिल्लो बुधबारदेखि अनिवार्य अवकाशमा गएका हुन् । सिंहको अनिवार्य अवकासपछि रिक्त रहेको सचिव पदमा सरकारले पौडेललाई बढुवा गरेको हो ।

सचिवमा बढुवा भएका पौडेलले भन्सार विभागको महानिर्देशक, धितोपत्र बोर्डको अध्यक्ष, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षलगायतका जिम्मेवारी निर्वाह गरिसकेका छन् ।