जनता टाइम्स

१ भाद्र २०७७, सोमबार ०६:२०

अब खेल्ने ठाउँ छैन, विवादहरु सुल्झन्छन : पोखरेल


काठमाडौं, भदौं १ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले कार्यदल गठन गरेपछि पार्टीभित्रको विवाद समाधान हुनेमा पार्टी पंक्ति विश्वस्त बनेको बताउनुभएको छ । पार्टीका दुबै अध्यक्षको सहमतिमा विवाद समाधान कार्यदल गठन भएपछि पार्टीभित्र देखिएका समस्या समाधान हुनेमा विश्वास बढेको नेता पोखरेलले बताउनु भयो ।

‘समस्या पनि हामी नै हौं, समाधान पनि हामी नै हौं,’ नेपाल टेलिभिजनसँग कुरा गर्दै नेकपाका सचिवालय सदस्यसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, ‘अब खेल्ने ठाउँ छैन, विवादहरु सुल्झन्छन ।’ दुई अध्यक्षले कार्यदल गठन गरिसकेकाले अब कार्यदलले ल्याएको प्रस्ताव दुई अध्यक्षले अध्ययन गरेर सचिवालय र स्थायी कमिटी बैठकमा प्रस्ताव ल्याउने नेता पोखरेलले जानकारी दिनुभयो ।

विद्यमान राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति र पार्टी एकताको आवश्यकतालाई मध्यनजर गरी अध्यक्षद्वयको सहमतिमा गठित कार्यदलले काम सुरु गरेपछि समस्या समाधानको बाटोमा अघि बढेको उहाँको भनाइ छ । पार्टी एकतालाई अक्षुण्ण राख्दै जनादेश अनुरुप पार्टीलाई प्रभावकारी ढंगले अघि बढाउन भन्दै पार्टीका दुबै अध्यक्षले शुक्रबार कार्यदल गठन गर्नुभएको हो ।

कार्यदलले पार्टीभित्रका समस्यालाई सूक्ष्म रुपमा केलाएर समाधानका उपायसहितको प्रतिवेदन छिट्टै तयार गरी पेश गर्नेछ । पार्टीका आन्तरिक समस्याको समाधानका लागि यथाशक्य छिटो गृहकार्य गरी सुझाव प्रस्तुत गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा पार्टी स्थायी कमिटी सदस्य भीम रावल,सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुषाल सदस्य रहनु भएको छ । कार्यदलले आफ्नो काम थालिसकेको छ ।