जनता टाइम्स

७ भाद्र २०७७, आईतवार १५:२८

अमेरिकामा बन्यो कोरोना संक्रमण रोक्ने मल्हम


वासिङटन डिसी (अमेरिका), भदौ ७ । बिश्वभर महामारी बनेको कोरोना भाइरसको संक्रमणबाट जोगिने मल्हम बनेको छ । विश्वभरका वैज्ञानिकहरु कोरोनाबिरुद्धको औषधि पत्ता लगाउन अहोरात्र प्रयासरत रहेको बेला अमेरिकाबाट निकै खुसीको खबर आएको छ ।

अमेरिकाको एक फर्मा कम्पनीले कोरोना भाइरसलाई ३० सेकेण्डमा मार्ने मल्हम बनएको दावी गरेको छ । वैज्ञानिकहरुले यो मल्हमको नाम ‘टी थ्री एक्स’ राखेका छन । यो मल्हमको परीक्षण सफल भएलगत्तै अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनले यसको प्रयोगमा अनुमति दिएको छ । वैज्ञनिकहरुको भनाई उधृत गर्दै द ईकोनोमिक टाइम्सले जनाएअनुसार यो मल्हमलाई नाकमा लगाउँदा कोरोनासंगै अन्य विभिन्न प्रकारका भाइरसको संक्रमण हुन दिंदैन ।

बैज्ञानिकहरुका अनुसार ‘टी थ्री एक्स’ मल्हम नाकमा लगाउँदा एक प्रकारको लेयरको निर्माण हुन्छ । त्यसले कोरोना लगायत कुनै पनि भाइरसलाई नाकबाट शरीरमा पस्न दिंदैन । सामान्यतया धेरैजसोमा संक्रमण नाकबाटै हुने गरेका छन । यो मल्हमको प्रयोगले कोरोना संक्रमणमा कमी ल्याउन सकिने यो मल्हमको विकास र अनुसन्धानमा लागेको टेक्ससको एक कम्पनी एडभान्स पेनिट्रेशन टेक्नोलोजीका संस्थापक डाक्टर ब्रायन हबरले यस्तो बताउनु भयो । डा.हबरका अनुसार यो मल्हम कोरोना संक्रमितको उपचारका लागि महत्वपूर्ण उपलब्धी हो ।

‘यो मल्हम कोरोना भाइरससंग लड्नमा महत्वपूर्ण सहयोगी साबित हुनेछ । महिनौंदेखि अपेक्षा गरिएको सुरक्षा कवचको रुपमा यो मल्हमले स्थान पाउनेछ,’ डा.हबरको भनाई छ । अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडिए) ले यो मल्हमलाई ओभर द काउन्टर मेडिसिनको रुपमा स्विकृति दिएको छ । यो अनुमतिसँगै यो मल्हमको प्रयोगका लागि डाक्टरको प्रेसक्रिप्सन आवश्यक पर्दैन । मेडिकल स्टोरबाट सहजै खरिद गर्न सकिनेछ ।

ईकोनोमिक टाइम्सको समाचार अनुसार दुई महिनाअघि यो मल्हमको परीक्षण सुरु गरिएको थियो । परीक्षण सफल भएपछि मात्रै एफडिएले प्रयोगका लागि स्विकृति दिएको हो । परीक्षणका क्रममा यो मल्हमलाई नाकमा लगाउँदा सक्रमण फैलाउने कुनै पनि प्रकारका भाइरस फेला नपरेको डाक्टर हबरले बताउनु भयो ।