जनता टाइम्स

१० भाद्र २०७७, बुधबार १९:२३

६ महिनापछि नियमित हुँदै अन्तर्राष्ट्रिय उडान : चीन-जापान-कतार मलेसियासहित ८ देशको प्रतिवन्ध फुकुवा


काठमाडौं, भदौ १० । सरकारले कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडानमाथि लगाएको प्रतिवन्धलाई आंशिक देशमा खुला गरेको छ । सरकारले विभिन्न ८ वटा देशका हकमा हवाई प्रतिवन्ध फुकुवा गरेको हो ।

कोरोना महामारी बढेपछि लकडाउन गर्दै सरकारले गत चैत १० गतेबाट कुनै पनि देशका विमानले नेपालमा उडान भर्न नपाउने गरी प्रतिवन्ध लगाएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज ८ देशमाथिको उडान प्रतिवन्ध खुला गर्दै नियमित उडान तालिका तय गरेको छ । मन्त्रालयको यस निर्णयअनुसार अब मलेसिया, टर्की, दक्षिण कोरिया, जापान, चीन, हङकङ, यूएई र कतारबाट नियमित उडान हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्री योगेश भट्टराईका अनुसार यो निर्णय आगामी सेप्टेबर १ बाट लागु भई एक महिनासम्म कायम रहनेछ । त्यसपछि आवश्यकता र परिस्थितिअनुसार थप निर्णय हुने मन्त्री भट्टराईले जानकारी दिनुभयो । ‘अहिले दैनिक उडान संख्यासमेत बढाउनु पर्यो भन्ने माग छ, यसबारे परिस्थिति हेरेर अनुसार निर्णय हुन्छ,’ मन्त्री भट्टराईले भन्नुभयो । उहाँका अनुसार नयाँ तालिका तय गर्ने क्रममा पिसिआर परीक्षण सहज हुने देशलाई छानिएको छ । यी आठ देशबाट पनि पर्यटक र गैरआवासीय नेपाली भने नेपाल आउन पाउने छैनन । नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारी, विकास साझेदारी संघ संस्थाका कर्मचारी तथा प्रतिनिधि, सरकारी आमन्त्रणमा आउने व्यक्तिले मात्र नेपाल प्रवेशको अनुमति पाउने उहाँको भनाई छ ।

सरकारले अनअराइभल भिसा बन्द गरेका कारण सबै व्यक्तिले नेपाल आउनका लागि सम्बन्धित मुलुकको दूतावासबाटै भिसा लिनुपर्ने गरी उडान तालीका तय गरिएको छ । यो निर्णय कार्यान्वयनका लागि सरकारले स्वदेशी दुई वायुसेवा कम्पनीलाई कुल २९ वटा उडानको अनुमति दिएको छ । त्यसमध्ये नेपाल एयरलाइन्सको भागमा १७ र हिमालयको भागमा १२ उडान परेको छ । विदेशी वायुसेवा कम्पनीले भने ३१ वटा उडानको मात्रै अनुमति पाएका छन । पर्यटन मन्त्रालयका अनुसार सेप्टेम्बर महिनामा कुल २७ वटा चार्टर्ड उडान हुनेछन् ।  सरकारले पिसिआर परीक्षण सम्भव नहुने मुलुकबाट आउने नेपाली नागरिकलाई लक्षित गर्दै आगामी एक महिनाका लागि चार्टर्ड उडानको अनुमति दिएको हो । ती मुलुकमा तत्काल नियमित हवाई उडान भने हुने छैन ।

सरकारले सेप्टेबर महिनाका लागि माल्दिभ्स, साउदी अरब, ओमान, कुवेत र कतारमा चार्टर्ड फ्लाइटका लागि उडान तोकेको छ । साउदी अरबको जेद्दा, दमाम र रियाद गरी तीन शहरमा उडान हुनेछ । मन्त्रालयले सवैभन्दा पहिला हवाइ सम्पर्क टुटेको छिमेकी मित्रराष्ट्र चीनको तीन शहरमा पनि उडान अनुमति दिएको छ । चीन कोरोना भाइरसको संक्रमणका बीच सबैभन्दा पहिले (५ चैत) मा अन्तराष्ट्रिय हवाई सम्बन्ध टुटेको मुलुक हो । अब नियमित उडानबाट चीनका ३ वटा शहर काठमाडौंसँग जोडिने भएका छन् ।

हिमालय एयरलाइन्सले एक महिनामा चुङछिङमा चार उडानको अनुमति पाएको छ । यस्तै चाइना साउदर्नले ग्वाङझाउ र एयर चाइनाले छेन्दुलाई काठमाडौंसँग जोड्ने भएका छन् । यी कोरोनाबाट कम प्रभावित शहर हुन । यस्तै लामो दूरीका उडानमा दक्षिण कोरियाबाट कोरियन एयरले अनुमति पाएको छ । नेपाल एयरलाइन्सले जापानको नारिताका लागि उडानको अनुमति पाएको हो । यस्तै टर्की एयरले टर्कीको इस्तानबुलबाट उडान भर्नेछ ।