जनता टाइम्स

१९ भाद्र २०७७, शुक्रबार १९:०६

समातीए प्रेस ज्याकेट लगाएर प्रहरीमाथि ढुंगा बर्साउने युवक, थप सात जनाको खुल्यो पहिचान


काठमाडौं, भदौ १९ । प्रेसको ज्याकेट लगाएर प्रहरीमाथि ढुंगा बर्साउने युवक पक्राउ परेका छन । बिहीबार पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने स्थानीय युवक र प्रहरीसँगको झडपमा प्रहरीलाई ढुंगा हान्ने पत्रकारधारी ती युवकलाई आज प्रहरीले पक्राउ गरेको हो ।

प्रेस लेखेको ज्याकेट लगाएका र हातमा क्यामेरा बोकेर प्रहरीतर्फ ढुंगा हान्ने ती युवक एक युटुवमा भिडियो अपलोडको काम गर्दै आएको प्रारम्भिक सूचना प्रहरीले पाएको छ । युवकलाई शुक्रबार महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो ।

अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाले जनताटाइम्सलाई दिनुभएको जानकारी अनुसार ती युवक ललितपुरको महालक्ष्मी नगरपालिका– १३ इमाडोलका २१ वर्षका अनिश महर्जन हुन् । उनी कुनै सञ्चार माध्यममा संलग्न नरहेको र प्रेस कार्ड पनि नभएको पाइएको एसएसपी थापाले जानकारी दिनुभयो ।

प्रहरीले बिहीबार मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीलाई ढुंगा मुढा गर्ने १३ जनालाई पक्राउ गरिसकेको छ । थप सात जनाको पहिचान भइसकेकोले पक्राउको अन्तिम तयारीमा प्रहरी छ ।