बिराटनगर, भदौ २० । विराटनगरमा संगठित रूपमा अपराधको सञ्जाल विस्तार गरेर व्यापारीलाई ज्यान मार्ने धम्की दिँदै लाखौं रूपैयाँ असुली गर्ने गिरोहलाई राजनितिक संरक्षण रहेको पाइएको छ। गत बुधबार मोरङ प्रहरीले असुलीको आरोपमा पक्राउ गरेका अभिषेक राय र उनलाई हतियार बेचेको अभियोगमा पक्राउ परेका विकास महतोलगायतका यूवाहरू सत्तासिन पार्टी नेकपाकै नेता तथा पूर्वमन्त्रीका सचिवालयको संरक्षणमा रहेको पाइएको हो।
उनीहरू नेकपाको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) का नेता कार्यकर्ता हुन। रकम असुलीका नाइके राय अनेरास्ववियूका विराटनगरमहानगर कमिटीका उपाध्यक्ष हुन। अर्का हतियार बेच्ने महतो सोही संगठनको मोरङ जिल्ला कमिटी सचिवालय सदस्य, पुसेट क्याम्पस कमिटीका अध्यक्ष तथा पूर्वान्चल विश्वबिद्यालय केन्द्रीय कमिटी सदस्यसम्मको जिम्मेवारीमा छ्न। पछिल्लो समय अनेरास्ववियूका केन्द्रिय कमिटी सदस्य वसिम आलम निकट रहेका उनिहरू विभिन्न समाज सेवाको काममा पनि सक्रिय हुँदै आएका थिए। आलम नेतृत्वमा चलिरहेको असहायलाई निशुल्क खाना खुवाउने अभियानमा जोडिएका उनीहरूको अबैध कृयाकलापले भने धेरैलाई शशंकित बनाएको छ।
लामो समयदेखि अखिलका नेता आलमसंग जोडिएका उनीहरूले प्रहरी प्रशासनसँग पनि राम्रो सम्बन्ध बिकास गर्ने प्रयत्न गर्दै आएका थिए। फलस्वरूपम हतोले ईलाका प्रहरी कार्यलय रानीबाट कदरपत्र समेत प्राप्त गरे।प्रहरीको उच्च अधिकारीहरूको स्वागत र बिदाईमा मात्र सरिक हुने नभै उनीहरूले प्रहरीलाई विभिन्न सहयोग समेत गर्दै आएका थिए।आलम संचालक रहेको ट्रुबुइल्ट नामक निर्माण कम्पनीसँग जोडिएका उनीहरू पेटी ठेकदारको रूपमा पनि काम गर्दै आएका थिए।
समाजमा सक्रिय समाजसेवीको छवि बिकास गर्दै आएका उनीहरूले प्रहरीका उच्च अधिकारी र इमान्दार नेताको छवि बनाएका पूर्वमन्त्री लालबाबु पण्डितसँग पनि निकट सम्बन्धको बिकास गरेका थिए।पूर्वमन्त्री पण्डित विराटनगर आउँदा आलमकै साथमा अघिपछि हिड्ने गरेका उनीहरूलाई छुटाउन पनि अहिले राजनितिक दवाव भैरहेको प्रहरी स्रोतले बताएको छ । समाजसेवीको रूपमा स्थापित हुन खोज्नेहरूबाट भएको यस्ता अवैध र आपराधिक क्रियाकलापले समाजलाई नै चिन्तित बनाएको छ।
कसरी पक्राउ परे ?
मोरङ प्रहरीले धम्काउँदै चन्दा असुली गर्ने नाईके कटहरी २ का २७ वर्षीय अभिषेक रायसहित ५ जनालाई पक्राउ गरि सार्वजनिक गर्यो। गुट्खा, चामल, तेलको डिलर संचालन गर्ने विराटनगरका व्यापारीलाई २५ असारमा ज्यान मार्ने धम्की दिएर १० लाख रुपैयाँ सो समूहले चन्दा मागेका थिए।प्रहरीका अनुसार व्यापारीले दुई पटक गरी ५ लाख रुपैयाँ दिए ।विराटनगरका दुईजना व्यापारीलाई ज्यान मार्ने धम्की दिँदै रकम असुल्ने समूहमा आबद्ध कटहरी गाउँपालिका–२ आर्दशनगरका २६ वर्षीय किसन साह, सोही ठाउँका २८ वर्षीय एलेक्स भन्ने रविन शर्मा, २७ वर्षीय अभिषेक राय, सप्तरी बोदेबर्साइन नगरपालिका ८ बस्ने २७ वर्षीय नन्दु भन्ने नन्दकिशोर साह र भारतको बिहार राज्य सितामणी जिल्ला घर भइ विराटनगर जलजलामोडस्थित चाइना बजारमा कपडा पसलमा काम गर्ने २७ वर्षीय राजुकुमार साहलाई प्रहरीले पक्राउ गरिसकेको छ।
व्यापारीबाट रकम असुलेपछि गिरोहका मुख्यनाइके अभिषेकले पेस्तोल उपलब्ध गराउने मेहतालाई १ लाख रुपैयाँ दिएको अनुसन्धानबाट खुलेको छ। पेस्तोल र गोली विराटनगरको कोशी प्रोजेक्टबाट उनले लिएका थिए।६ राउण्ड गोली खरिद गरेर ल्याएकोमा तीन राउण्ड गोली व्यापारीले सुरुमा रकम नदिएपछि उनलाई तर्साउन उनीहरुले पड्काएका थिए।घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार व्यापारीको घरको पर्खालमा पेस्तोलबाट चलेको गोलीको दाग भेटिएको छ।
बरामद भएको पेस्तोल र गोली तथा यसअघि फेलापरेको खोका विधिविज्ञान प्रयोगशालामा परिक्षण हुने प्रहरीले जनाएको छ।उनीहरू पक्राउपछि अनुसन्धान गर्ने क्रममा मोरङ प्रहरीले पेस्तोल बिक्री गर्ने विराटनगर– १२ का २६ वर्षीय विकास महतोलाई समेत बिहीबार पक्राउ गरेको हो।
प्रतिक्रिया दिनुहोस्