जनता टाइम्स

२२ भाद्र २०७७, सोमबार १०:४४

नेकपाले बोलायो स्थायी कमिटी बैठक, यस्ता छन् एजेण्डा


काठमाडौं, भदौ २२

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थायी कमिटि बैठक बोलाएको छ । विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले तयार पारेको प्रतिवेन पेश गर्न स्थायी कमिटी बैठक बोलाइएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान पार्टी अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित महासचिव विष्णु पौडेलको छलफलमा बैठक बोलाउने सहमति भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार बैठक भदौ २६ गते बोलाउने सहमति भएको जानकारी दिनुभयो । ‘नेपाल कम्युनिस्ट पार्टी(नेकपा) स्थायी कमिटीको साउन १३ गते स्थगित बैठक भदौ २६ गते बोलाउने सहमति भएको छ’, उहाले भन्नुभयो, ‘बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय र महासचिव सहितको छलफलमा यो सहमति गरिएको हो ।

महासचिव पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदनका विषयमा छलफल गर्न बैठक बोलाइएको छ । कार्यदलको प्रतिवेदनकै आधारमा स्थायी कमिटी बैठकले निर्णय गर्ने नेकपाका एक नेताले जानकारी दिनुभयो । ‘कार्यदलको प्रतिवेदन स्थायी कमिटी बैठकको एजेण्डामै केन्द्रित रहेर आएको छ । दुई अध्यक्षले त्यसमा आवश्यक परिमार्जन गरेर पेश गर्नुहुन्छ,’ ती नेताले जानकारी दिनुभयो । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेपछि साउन १३ गते दुवै अध्यक्षले आ–आफ्नो तरिकाले बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए । त्यसपछि निरन्तर सम्वाद गरेर कार्यदल गठन गर्ने सहमति बनेको थियो ।