काठमाडौं, भदौ २२ । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम सुरु भएको छ । शिलान्यास भएको झन्डै एक वर्षपछि राजधानी भित्रिने मुख्य नाकामा सुरुङमार्ग निर्माणको काम सुरु भएको हो ।
सुरुङमार्ग निर्माणका लागि आवश्यक पर्ने उपकरण नागढुङ्गास्थित आयोजना स्थलसम्म आइपुगिसकेको छ। आयोजनाका अनुसार जम्बो ड्रिलर, एक्साभेटर, कङ्क्रिट गर्ने प्रेसर मेसिन, ह्विल लोडर, टनेल लाइनिङ गर्ने मेसिन लगायतका करिब चार अर्ब रुपियाँ बराबरका उपकरणहरू जापानबाट नेपाल आइसकेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत २०७६ कात्तिक २४ गते सो सुरुङमार्गको शिलान्यास गर्नुभएको थियो । प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाका अनुसार विभिन्न समस्या र अवरोधलाई समाधान गर्दै मुलुककै ‘ड्रिम प्रोजेक्ट’का रूपमा उक्त सुरुङमार्गको निर्माण कार्य सुरु भएको हो। “काठमाडौँ र धादिङ दुवैतिरबाट एकैसाथ सुरुङमार्गको निर्माण सुरु गरिएको छ, अब निरन्तर काम अगाडि बढ्ने छ,” थपलियाले भन्नुभयो । मुआब्जा विवाद र विस्फोटक पदार्थ आपूर्तिका लागि नेपाली सेनाले अनुमति नदिँदा सो सुरुङमार्ग निर्माणको काम अघि बढन सकेको थिएन ।
सुरुङमार्ग निर्माण स्थलको आकस्मिक अनुगमन गर्नुभएका विज्ञ थपलियाले अनुगमनका क्रममा आफूले निर्माण कार्य निरन्तर अगाडि बढाउन अब कुनै समस्या नरहेको पाएको जानकारी दिनुभयो । निर्माण कम्पनीको आयोजना निर्देशकको प्रत्यक्ष रोहवरमा २४ घण्टा काम भइरहेको छ । अब कुनै समस्या नदेखिने र देखिएको नयाँ समस्यालाई थयाशीघ्र समाधान गरी कामलाई निरन्तरता दिइने उहाँले बताउनु भयो । करिब २.७ किलोमिटर लम्बाइको सुरुङमार्गको चौडाइ करिब १२ मिटर र उचाइ आठ मिटर हुनेछ ।
सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले काठमाडौँ र धादिङबाट एकैसाथ सुरुङको मुख बनाउने काम भइरहेको जानकारी दिनुभयो । दुवैतिरको मुख निर्माण भइसकेपछि भित्र छिरेर दैनिक विस्फोट गराइने उहाँले जानकारी दिनुभयो । अबको एक वर्षभित्र दुवैतिरबाट वारपार गर्न मिल्ने गरी प्रस्तावित सुरुङको प्वाल खोलिसकिने थापाको भनाई छ । मुलुककै चासोको विषय रहेको सो सुरुङमार्ग निर्माणकार्य निर्धारित समयमा नै सकिने गरी कामलाई तीव्रता दिइएको बताउँदै थापाले हरेक दिन चारवटा विस्फोट गराइने बताउनुभयो । उहाँका अनुसार कोरोना सङ्क्रमणबीच पनि दूरी कायम गर्दै अहिले पनि दुई सय जना जनशक्ति खटिरहेको छ ।

उहाँले राजमार्ग अवरोध नहुने गरी काम अगाडि बढाइएको उहाँले बताउनुभयो । राजमार्गको ठीक पाँच मिटरमुनि सुरुङमार्ग निर्माण भइरहेको छ । निर्माणाधीन सुरुङमार्ग क्षेत्रमा परेको सिस्नेखोलालाई अहिले तर्काउने काम भइरहेको थापाले बताउनुभयो । “आठ इन्च वृत्ताकार नाला बनाएर स्थायी रूपमा खोला तर्काउने काम भइरहेको छ, खोला भएको ठाउँमा सुरुङमार्गको नियन्त्रण कक्ष निर्माण गरिने छ,” थापाले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्