काठमाडौं, भदौ २४
शुक्रबार बस्ने स्थायी कमिटीको बैठकको एजेण्डा तय गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठकमा पेश हुने प्रस्तावलाई अन्तिम रुप दिन अध्यक्षद्वय छलफलमा जुट्नुभएको हो ।
स्थायी कमिटीको बैठक शुक्रबार २६ गतेका लागि तय गरिएकाले दुई अध्यक्षले बैठकको प्रस्तावका विषयमा छलफल गर्नुभएको छ । सचिवालयको बैठकले कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनका आधारमा प्रस्ताव पेश गर्न अध्यक्षद्वयलाई जिम्मेवारी दिएको थियो । सो प्रतिवेदनमा पार्टीमा देखिएको विवादलाई कसरी समाधान गर्ने र महाधिवेशनका विषयमा सुझावहरु प्रस्तुत गरिएको छ ।
महासचिव विष्णुप्रसाद पौडेल संयोजकत्वको ६ सदस्यीय कार्यदलले आठ दिन लगाएर १६ पृष्ठको प्रतिवेदन भदौं ६ गते दुवै अध्यक्षलाई बुझाएको थियो । कार्यदलले बुझाएको प्रतिवेदन र त्यसमा परिमार्जन गरिनुपर्ने विषय समेतमा दुई अध्यक्षबीच छलफल भएको छ ।
कार्यदल गठन र त्यसले बुझाएको प्रतिवेदनले पार्टीभित्र देखिएको आन्तरिक विवाद साम्य भएको थियो । सोअघि साउन १३ गते उपाध्यक्ष बामदेव गौतमले दुई अध्यक्षबीच हुनुपर्ने सहमतिका विषयलाई समेटेर ६ बुँदे प्रस्ताव पेश गर्नुभएको थियो । कार्यदलको प्रतिवेदनले छ बुँदे प्रस्तावलाई समेत समेटेको छ ।
प्रतिक्रिया दिनुहोस्