काठमाडौं, भदौ ३०
मुलुक लोडसेडिङबाट आक्रान्त बनेको बेला विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त भएर आउनुभएका कुलमान घिसिङलाई अन्ततः चार वर्षे कार्यकाल पुरा गरि आज विदाइ गरिएको छ । आज प्रधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले घिसिङको चार वर्षे कार्यकाल सकिएपछि बिदाइ गरिएको हो । उहाँलाई प्राधिकरणका कर्मचारीले औपचारिक बिदाइ गरेका थिए ।
त्यसक्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धको मूर्ति उपहारस्वरुप दिनुभयो । त्यस्तै कार्यक्रममा आधिकारिक ट्रेड युनियन नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वोर पौडेलले कुलमान घिसिङको कार्यकालमा प्राधिकरणको कायापलट हुने गरी विकास गरेको धारणा राख्नुभयो ।
उहाँले सुरुमा घिसिङले जिम्मेवारी सम्हाल्दा माफियाको चङ्गुलमा फस्नुहुन्छ कि भन्ने डर लागेपनि पछि धेरै नाफा हुने संस्थानको रुपमा प्राधिकरणको विकास गर्न सफल भएकोमा सरकारले पुनः घिसिङलाई नियुक्ति गर्नेछ भन्ने आशा बाँकी नै रहेको बताउनुभयो । बिदाइ मन्तब्य राख्दै उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले कुलमानलाई कार्यकारी निर्देशकको कार्यकाल पूरा भएको उपलक्ष्यमा मात्र नभई प्राधिकरणमा २६ बर्ष सेवा पूरा गरेको अवसरमा बिदाइ गरिएको बताउनुभयो । उहाँको ४ वर्षे कार्यकाल आइतबार सकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्