जनता टाइम्स

४ आश्विन २०७७, आईतवार १४:२४

अब दुई घण्टामै आउँछ कोरोना परीक्षणको रिपोर्ट


चितवन, असोज ४ । कोरोना संक्रमण भए नभएको जानकारी पाउन हप्तौं दिन लाग्ने समस्या अव हटेको छ । चितवन मेडिकल कलेजले दुई घण्टामा नै पिसिआर परीक्षणको नतिजा दिन थालेको छ ।

चितवन मेडिकल कलेजले र्‍यापिड एन्टिजेन टेष्ट मार्फत छिटो नतिजा दिन आजदेखि सो सेवा शुरुआत गरेको हो । यसका लागि तीन हजार तिर्नुपर्ने हुन्छ । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले चार करोडभन्दा बढी खर्च गरेर प्रयोगशाला स्थापना गरिएको जानकारी दिनुभयो । कलेजको प्रयोगशालामा गएको एक महिनामा पाँच हजार २९२ जनाको कोरोनाको पिसिआर परीक्षण गरेको छ । तीमध्ये ९५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कलेजले गत भदौ ३ गतेबाट पिसिआर परीक्षण थालेको हो । कलेजका सञ्चार संयोजक डा किशोर अधिकारीका अनुसार सङ्क्रमितमध्ये ५५६ जना पुरुष र ३९७ जना महिला रहेका छन् । कूल सङ्ख्यालाई हेर्दा परीक्षण गरिएकामध्ये १८ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको हो । सङ्क्रमण भई अस्पतालमा उपचाररतमध्ये हालसम्म १३ जनाको मृत्यु भएको छ ।

साृे अस्पतालले २२१ जना सङ्क्रमितको उपचार गरिसकेको जनाएको छ । हाल अस्पतालमा ९७ जना उपचाररत रहेका छन् । डा. अधिकारीका अनुसार तीनजना भेन्टिलेटर र ४३ जनाको कोभिड सघन उपचार कक्षमा उपचार भइरहेको छ । अन्यको अवस्था सामान्य छ । अस्पतालमा उपचारका क्रममा रहेकामध्ये ४५ पुरुष र ५२ महिला रहेका छन् ।

सो कलेजले हाल रु दुई हजारमात्र लिएर पिसिआर परीक्षण गर्दै आएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा परीक्षण गर्न ढिला भएका नमूनाहरुको परीक्षण पनि कलेजले गर्दै आएको छ ।