काठमाडौं, असोज ११ । एसिड आक्रमणपीडित तीन जना युवतीले कुमारी बैंकमा रोजगारी पाएका छन । कुमारी बैंकले एसिड पीडित दुई जना युवतीलाई उपत्यका र एक जनालाई हेटौंडामा स्थायी रोजगारीको व्यवस्था गरेको हो ।
एसिड अपराधविरूद्ध क्रियाशिल उज्जवलविक्रम थापाका अनुसार हेटौंडाकी विन्दबासिनी कंसाकार तथा काठमाडौंमा बस्दै आएका जेनी खड्का र संगीता मगरलाई कुमारी बैंकले रोजगारी दिएको हो । कुमारी बैंकले तीनै जनालाई ‘मार्केटिङ अफिसर’को रुपमा बैंकले रोजगारी दिलाएको एसिड अपराधविरुद्ध न्याय, पुुनस्थापना र कडा कानुनका लागि क्रियाशील सामाजिक अभियान्ता थापाले जानकारी दिनुभयो । असोज १ गतेबाटै गणना हुने गरी उनीहरुले रोजगारी पाएका हुन् । बैंकमा सुरुमा एक महिनाको करार र त्यसपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर स्थायी नियुक्ति दिइने छ ।
हेटौंडाकी कंसाकारमाथि २०७० वैशाख ९ गते पसलमा बसिरहेको बेला भारतीय नागरिक राज भन्ने दिलिपराज केशरीले एसिड आक्रमण गरेका थिए । यस्तै २०७१ फागुन १० गते एसएलसी परीक्षाका लागि ट्युसन पढ्न निस्किएकी संगीता मगरलाई बसन्तपुरमा रामेछाप फुलासीका जीवन बिकले एसिड छ्यापेका थिए । यसैगरी २०७६ जेठ २ गते कालोपुलमा काभ्रे फुलबारीकी जेनी खड्कामाथि सोही ठाउँका विष्णुबहादुर भुजेलले एसिड प्रहार गरेका थिए ।
यस्तै अर्का एक जना एसिडपीडितले भने महान्यायाधिबक्ताको कार्यालयमा रोजगारी पाएका छन । महान्यायाधिवक्ता अग्नी खरेलले आफ्नै श्रीमतीबाट एसिड आक्रमणमा परेका नुवाकोटका रामराजा थापालाई असोज १ गतेबाटै पारिश्रमिक गणना हुने गरी करारमा चालक नियुक्ति गर्नुभएको छ । २०७६ फागुन २६ गते विदुर नगरपालिका–१३ घर भई बालाजु बस्दै आएका २७ वर्षीय रामराजा थापालाई उनकै श्रीमती प्रतिमा थापाले एसिड प्रहार गरेकी थिइन् ।
सरकारले एसिड आक्रमण गर्नेविरुद्ध बिहीबार नै अध्यादेशमार्फत् २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना तथा उपचार खर्च निःशुल्क हुने गरी मन्त्रिपरिषदबाट कानुन पारित गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्