काठमाडौं, असोज १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई पर्सी शुक्रबारसम्म लम्बिएको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासको पूर्ण इजलासमा रिट निवेदक र विपक्षी दुबै पक्षबाट आज भएको बहशको क्रम नसकिएका कारण अर्काे पेसी शुक्रबारका लागित तय गरिएको हो । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले सुनुवाई नसकिएकाले शुक्रबारसम्म सरेको जानकारी दिनुभयो । गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले उक्त मनोनयन बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
रिटको प्रारम्भिक सुनुवाई गर्दै असोज ७ गते न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले गौतमको मनोनयन यथास्थितिमा राख्न र थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश दिएको थियो । सँगै यो मुद्धालाई संवैधानिक इजलासबाट टुंगो लगाउन आदेश जारी भई आजको लागि मिति तोकिएको थियो ।
निवेदनको माग बमोजिम अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्नेबारे प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासमा आज बहस भएको हो । आज रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, दिनेश त्रिपाठी, हरि उप्रेती, पंकज कर्णलगायतले बहस गर्नुभएको छ भने सरकारी पक्षबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्