काठमाडौं, असोज १४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनीत गर्ने निर्णयबिरुद्ध सर्वाेच्च अदालतमा परेको रिटको बहशमा कानून ब्यवसायीहरुले पक्ष बिपक्षमा दमदार तर्क गरे ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको नेतृत्वमा गठन गरिएको संबैधानिक इजलाशको पूर्ण इजलाशमा आजबाट भएको सुनुवाईको क्रममा सरकारी पक्ष र रिट निवेदकतर्फका कानून ब्यवसायीहरुले बहश गर्ने क्रममा आफ्नो तर्क प्रस्तुत गर्नुभएको हो । बरिष्ठ अधिबक्ता दिनेश त्रिपाठीसहितका कानून ब्यवसायीले गौतमलाई राष्ट्रियसभा सदस्य मनोनीत गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै परेको रिटको प्रारम्भिक सुनुवाईमा अन्तरिम आदेश जारी भई बुधवारका लागि संबैधानिक इजलाश तोकिएपछि आजबाट संबैधानिक इजलाशमा सुनुवाई सुरु भएको हो ।
आज दुवैतर्फका कानून ब्यवसायीले बहश गरे पनि नसकिएकोले शुक्रवारका लागि पेशी तोकिएको छ । आजको बहशमा सरकारको तर्फबाट गौतमको नियुक्तिको बचाउमा महान्यायाधिबक्ता अग्नि खरेलले बहश गर्नुभयो । बहशका क्रममा उहाँले निर्वाचन हार्नु अयोग्यता होइन भन्ने दमदार तर्क राख्दै सरकारको निर्णयअनुसार राष्ट्रपतिबाट भएको मनोनीत कानून सम्मत रहेकोले रिट खारेजी हुनुपर्ने जिकिर गर्नुभयो । आफ्नो बहशको क्रममा बामदेव गौतमको नियुक्तिको बचाउँ गर्दै तीन तर्क राखेर महान्यायाधिबक्ता खरेलले सन्त नेता कृष्णप्रसाद भट्टराईदेखि नेकपाकै बरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता महन्त ठाकुरको भने रामधुलाई गर्नुभयो ।
तीनै जना नेता चुनाव हारे पनि सोही कार्यकालमा संसदको सदस्य भएको र दुई जना नेता त सभामुख र प्रधानमन्त्री नै बनेको भन्दै गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्ने निर्णयको बचाउ गर्नुभएको हो । ‘बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्ने निर्णय कानूनसम्मत रहेको छ भन्ने तर्क राख्दै तीन नेताको उदाहरण पेश गर्नुभयो, उहाँहरुले चुनाव हारे पनि कसरी सभामुख र प्रधानमन्त्री बन्नुभयो भन्ने फेहरिस्त राखेर अदालतमा बिगतमा चुनाव हारेर संसदमा पुगेका नेताको सूची पेश भयो,’ बहशमा सहभागी एक कानून ब्यवसायीले जनताटाइम्ससँग भने ।
ती कानून ब्यवसायीका अनुसार महान्यायाधिबक्त खरेलले सकारात्मक नियतका साथ बहशका क्रममा गौतमको बचाउँ गर्दा पूर्वप्रधानमन्त्री तथा सन्त नेता कृष्णप्रसाद भट्टराई, पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल र जसपाका नेता महन्त ठाकुराको राम धुलाई गर्नुभएको हो । उहाँले तथ्य राख्नुभयो तर त्यो तथ्य राख्दा किसुनजी र माधवजीको नाम आएपछि गौतमकै पक्षमा बहशमा उत्रिएका केही कानून ब्यवसायीको मन अमिलो भएको देखियो,’ ती कानून ब्यवसायीको भनाई थियो ।
यस्तो छ खरेलको तर्क
२०१५ सालको आम चुनावमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई निर्वाचन क्षेत्र नम्बर १०४ गोरखाबाट पराजित हुनुभयो । त्यतिबेला उहाँ गोरखा परिषदका उम्मेदवारसँग पराजित हुनुभएको थियो । तर उहाँ त्यसै प्रतिनिधिसभाको सदस्य मात्र हुनुभएन, सभामुख पनि बन्नुभयो ।
२०६४ सालको को संविधानसभा निर्वाचनमा दुई दुई ठाउँबाट निर्वाचन हारेका माधवकुमार नेपाल पनि मनोनीतको बाटोबाटै संविधानसभामा आउनु भयो । उहाँ संबिधानसभामा मात्र आउनुभएन, प्रधानमन्त्री समेत बन्नुभयो ।
२०६४ सालकै संबिधानसभा निर्वाचनमा महन्थ ठाकुर पराजित हुनुभयो । तर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने २६ जना सभासदको कोटामा मनोनीत भएर संसदमा आउनु भयो ।
उनका अनुसार बहशका क्रममा खरेलले २०१५ सालको निर्वाचनमा भट्टराई चुनाव हारे पनि मनोनीत भएर सभामुख नै भएको, २०६४ सालमा माधवकुमार नेपाल दुई दुई ठाउँबाट चुनाव हारे पनि मनोनीत भएर प्रधानमन्त्री नै बनेको र सोही निर्वाचनमा हारे पनि ठाकुर मनोनीत भएर संबिधानसभामा आएको तथ्य राखेर चुनाव हार्दैमा बामदेवलाई राष्ट्रियसभामा मनोनीत गर्न कानूनले छेकवार नगरेको बताउनु भएको हो ।
संविधानको धारा ७८ को ४ ले प्रतिनिधिसभाको निर्वाचनमा पराजित व्यक्तिलाई सो प्रतिनिधिसभाको कार्यकालभर मन्त्री नबनाउनु मात्र भनेको तर निर्वाचन वा मनोनयनबाट संघीय संसद सदस्य भइसकेपछि मन्त्री बन्न नरोक्ने तर्क गर्दै खरेलले रिट खारेज गर्नुपर्ने दमदार तर्क पनि राख्नुभयो ।
प्रतिक्रिया दिनुहोस्