जनता टाइम्स

१६ आश्विन २०७७, शुक्रबार १४:४१

बामदेवबिरुद्ध मुद्दाको सुनुवाई फेरि सर्यो


काठमाडौं, असोज १६

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरेको मनोनयन विरूद्ध परेको रिटमा आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सुनुवाई नसकिएपछि आउँदो बुधबार हुने भएको छ । अब गौतमसँग सम्बन्धित रिटमा सर्वोच्च अदालतमा अब बुधबार सुनुवाई हुने भएको हो ।

मुद्दा हेर्दाहेर्दैमा राखेर बाँकी सुनुवाई आउँदो बुधबारसम्मका लागि सरेको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिनुभयो । गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्य मनोनित गरेको विरुद्धमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । उक्त रिटमाथि गत बुधबारदेखि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासको पूर्ण इजलासमा सुनुवाई भएको छ ।

बुधबार नसिकएपछि शुक्रबारका लागि सारिएको सुनुवाई अदालतको समय सकिएपछि पुनः बुधबारका लागि सरेको रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिनुभयो । उक्त रिटमा असोज ७ गते प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमको सां‌सद पद यथास्थितिमा राख्न र थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो ।