जनता टाइम्स

१७ आश्विन २०७७, शनिबार १३:३७

तेह्र बर्षपछि समातिए रौतहट हत्याकाण्डका अभियुक्त


रौतहट, असोज १७ । रौतहटको राजापुर हत्याकाण्डका फरार अभियुक्त तेह्र बर्षपछि पक्राउ परेका छन । रौतहट हत्याकाण्डका एक अभियुक्त बाराको सिम्रौनगढ नगरपालिका ४ बस्ने मोति सहनीका छोरा ५५ वर्षीय बद्री सहनीलाई प्रहरीले शुक्रवार पक्राउ गरेको हो ।

सहनीलाई २ नम्बर प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले शुक्रवार रौतहटको बौधीमाई ७ बड्की बंकुल क्षेत्रबाट पक्राउ गरेको हो । २०६४ चैत २८ गते हुने संविधानसभा चुनावलाई लक्षित गरी बम बनाउने क्रममा राजापुरमा बिस्फोट हुँदा स्थानीय नारायणसिंह राजपुतका छोरा त्रिलोकप्रताप सिंह राजपुतसहित करिब १६ जना घाइत हुनुका साथै ३ जनाको मृत्यु भएको थियो । त्यसपछि मृतक तथा घाइतेहरुलाई ट्रयाक्टरमा लोड गरी नजिकैको इँटाभट्टामा लगि जलाइएको थियो। शुक्रबार पक्राउ परेका सहनी सोही इँटाभट्टाका हेडमिस्त्री रहेको प्रहरीले जनाएको छ ।

सहनीले कांग्रेस नेता मोहम्मद आफ्ताव आलमकै निर्देशनबमोजिम घाइते तथा मृतकलाई जिउँदै इटाभट्टको आगोमा हालेको स्वीकार गरेको प्रहरीले जनाएको छ । सोही मुद्दामा पूर्वमन्त्री तथा कांग्रेस नेता आलम हाल थुनामा रहेका छन । शक्ति र सत्ताको आडमा लामो समयसम्म सो घटना लुकाउन सफल भएपछि पछिल्लो पटक सरकारले अपराधकर्ममा सून्य सहनशीलताको नीति लिएपछि आलममाथि अनुसन्धान अघि बढाइएको थियो । अदालतको आदेशमा हाल उनी कारागारमा रहेका छन ।