जनता टाइम्स

२१ आश्विन २०७७, बुधबार १४:५०

यी हुन मन्त्रिपरिषद बैठकका निर्णय


काठमाडौं, असोज २१

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेको औँल्याउँदै सरकारले उच्च सतर्कता अपनाउन उपत्यकावासीमा अपिल गरेको छ । यही असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकको अन्य भूभागमा कोरोनाको प्रकोप विस्तारै नियन्त्रणउन्मुख हुँदै गए पनि काठमाडौं उपत्यका अझै पनि उच्च जोखिम कायम रहेको बताउनुभयो ।

त्यस्तै मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विभिन्न निर्णय गरेको हो । उक्त बैठकका निर्णयहरु सार्वजनिक गर्दै उहाँले कालीमाटी फलफूल तथा तरकारी विकास समितिको अध्यक्षमा डा. योगेन्द्रकुमार कार्कीलाई नियुक्त गरेको पनि जानकारी दिनुभयो । कार्यकारी निर्देशकमा विनोद कुमार भट्टराईलाई नियुक्त गरिएको छ । यसैगरी विभिन्न देशमा कार्यरत महावाणिज्य दूतहरुको पदावदी थप गर्ने निर्णय भएको छ भने शिक्षक सेवा आयोगको अध्यक्ष र दुई सदस्यको नियुक्तिका लागि सिफारिस गर्न एक समित गठन गर्ने निर्णय भएको ज्ञवालीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाल प्रत्येक दिन देखिने कूल संक्रमितमध्ये आधाभन्दा बढी संक्रमितको सङ्ख्या उपत्यकामा रहेको छ । अहिलेसम्म उपत्यकामा कोरोना संक्रमण नियन्त्रण उन्मुख नदेखिएको हुनाले काठमाडौंवासीले असाध्यै धेरै सतर्कता अपनाउनुपर्ने जरुरी छ । झण्डै ४० लाख बसोबास गर्ने उपत्यकामा यदि सङ्क्रमण अनियन्त्रित भयो भने त्यसले हामीलाई निकै ठूलो जोखिममा पुर्याउनसक्ने अवस्था छ ।’

मन्त्री ज्ञवालीले काठमाडौंवासीलाई आफूले सेवा दिँदा वा लिँदा, व्यवसाय सञ्चालन गर्दा वा सहयोग पुर्याउँदा, सार्वजनिक यातायात वा निजी सवारीसाधनमा हिँडडुल गर्दा तथा अन्य कुनै प्रकारको गतिविधि गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखेर सतर्कता अपनाउन विशेष आग्रह गर्नुभयो । ‘देशैभर क्रमशः कोरोना संक्रमण घट्दै गरेको अवस्थामा काठमाडौं उपत्यकाको अवस्था अझै पनि उच्च जोखिममा छ, यो कुरालाई ध्यानमा राख्न सरकारकोतर्फबाट विशेष आग्रह गर्दछु’, उहाँले भन्नुभयो ।

नेपालीको सबैभन्दा ठूलो चाड वडादशैँ नजिकिँदै गरेको अवस्थामा कोरोनाको थप जोखिम बढ्न सक्ने औँल्याउँदै उनले स्वस्थ्य आगामी दिनमा पनि यस्ता पर्व मनाउन सकिनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । ‘दशैँको महत्वपूर्ण पक्ष भनेको पारिवारिक पुनर्मिलन र अग्रजबाट शुभाशिष लिने हो, तर यस्तो अवस्थामा परिवारका ज्येष्ठ सदस्यको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्छ, त्यसो हुनाले दशैँ मनाउँदा आफ्ना अभिभावकको सुरक्षा संवेदशनीलतालाई असाध्यै ध्यानमा राख्न जरुरी छ’, मन्त्री ज्ञवालीले भन्नुभयो ।

विगतमा जस्तो गाउँगाउँबाट काठमाडौं ओहोरदोहोर गर्दा संक्रमण फैलने जोखिम उच्च हुने भन्दै उहाँले टेलिफोनमार्फत आर्शिवाद लिन सकिने बताउनुभयो । ‘परिवारका ज्येष्ठ सदस्य सुरक्षित रहनुभयो भने यस्ता अवसर पटक–पटक आउँछन्’, उहाँले भन्नुभयो, ‘तर हाम्रो सानो लापरवाहीले उहाँहरुको स्वास्थ्यमा ठूलो जोखिम बढ्न सक्छ ।’ नेपालमा पछिल्लो समय ६० वर्ष मुनिका व्यक्तिमा कोरोना सङ्क्रमण दर र मृत्युदर तुलनात्मकरुपमा कम देखिएको छ । केही दिनयता नेपालमा कोरोनाका कूल संक्रमितको आधाभन्दा बढी सङ्ख्या काठमाडौं उपत्यकामा देखिन थालेको छ ।