गोरखा, असोज २२ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीसहित नीत नेताबिरुद्ध आपत्तिजनक आक्षेप लगाउनु भएको छ । आफ्नो गृहजिल्ला गोर्खामा आज आयोजित एक कार्यक्रममा जसपाका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले निकै निकृष्ट आक्षेप लगाउनु भएको हो ।
भट्टराईले पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड तथा प्रधानमन्त्री ओलीले बूढीगण्डकी जलविद्युत आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाउनु भयो । तीन प्रधानमन्त्रीले अर्बौंको भ्रष्टाचार गरेको प्रमाण पेश गर्न आफू तयार रहेको जिकिर पनि भट्टराईले गर्नुभयो ।
‘करोड र लाखका कुरा छोडौं, अर्ब, अर्वको लुट भइरहेको छ । म प्रधानमन्त्री छँदा शुरु गरेको बूढीगण्डकी जलविद्युत आयोजनाबाट केपी ओली, शेरबहादुर देउवा र प्रचण्डले नौ अर्ब रुपैयाँ कमिशन खाएर अलपत्र पारिरहेका छन,’ पालुङ्टार नगरपालिका ६ पौवाटारमा आयोजित राजनीतिक कार्यक्रममा बोल्दै भट्टराईले भन्नुभयो, ‘मलाई थाहा छ यो कुरा । प्रमाणित गर भन्नुभयो भने म तुरुन्त गर्न सक्छु । यो मात्र होइन, अरु दस, आठ वटा आयोजनाबाट अर्बौंअर्ब रुपैया कमिशन खाएर मुखमा बुझो लाएर बसेका छन । चिट चोरेर आठ कक्षा पास गरेका र १० कक्षामा फेल भएकाहरुले कमिशनखोरसँगको साँठगाँठबाट मुलुक चलाएकाले अहिले यस्तो दुर्दशा भएको हो ।’
भट्टराईले आफू प्रचण्डको निवासमा गइरहने गरेको तथ्य पनि खोल्नुभयो । प्रचण्ड निवास जाने क्रममा प्रधानमन्त्री ओलीसँग एकता गरेर प्रचण्डले भूल गरेको र अहिले रुनु परेको जिकिर गर्नुभयो । ‘प्रचण्डजी केपी ओलीको पछि लागेर त जानु भयो तर अहिले धुरुधुरु रोएर बस्नु भएको छ, बढी कुरा गर्यो भन्नु होला । म प्रचण्डको निवासमा गइरहेको हुन्छ, उहाँलाई के भइरहेको छ भन्ने कुरा मलाई सबै थाहा छ, किनभने प्रचण्डजीसँग अहिले पनि मेरो अत्यन्त राम्रो सम्बन्ध छ । उहाँ मसँग बिलौना गर्नुहुन्छ,’ भट्टराईको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्