जनता टाइम्स

२४ आश्विन २०७७, शनिबार १९:४६

स्वास्थ्य मन्त्रालयले भन्यो : धेरै अप्ठ्यारो परिस्थिति आयो, सामान्य त्रुटी पनि खतरनाक बन्नसक्छ


काठमाडौं, असोज २४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक रुपमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको भन्दै अप्ठ्यारो परिस्थिति आएको जनाउ दिएको छ ।

कोरोनालाई जितेर डिस्चार्ज हुने दरभन्दा संक्रमित हुने बिरामीको संख्या हरेक दिन बढेको भन्दै स्वास्थ्य मन्त्रालयले यस्ले अप्ठ्यारो परिस्थिति निम्त्याउने प्रष्ट पारेको हो । पछिल्लो २४ घण्टामामात्र ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन भने जम्मा १२२९ जना निको भएर घर फर्किएका छन ।

‘संक्रमितहरूको संख्या धेरै बढेको छ । अस्पतालहरू, आइसोलेसन सेन्टरहरू झण्डै भरिएका छन । खचाखच बिरामी बढेका छन’, स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले भन्नुभयो, ‘यसले हामीलाई धेरै अप्ठ्यारो परिस्थितिमा पुर्याउँदै छ भन्ने आँकलन गर्न सकिन्छ, अव सवैले बिशेष सतर्कता अपनाउन जरुरी छ ।’

प्रवक्ता गौतमले अव कुनै प्रकारको असावधानी निकै खतरनाक बन्ने संकेत पनि गर्नुभएको छ । ‘अव सामान्य त्रुटी पनि खतरनाक बन्नसक्छ, त्यसैले सबै स्वास्थ्य मापदण्ड पालना गर्दै सुरक्षित रहनुपर्छ,’ प्रवक्ता गौतमको भनाई छ ।