जनता टाइम्स

२७ आश्विन २०७७, मंगलवार १६:२२

पछिल्लो २४ घण्टामा थपिए देशभर ३५५६ कोरोना संक्रमित, यी ११ जिल्लामा छन सवैभन्दा बढी संक्रमित


काठमाडौं, असोज २७

पछिल्लो २४ घण्टामा देशभर ३५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ३५५६ जना संक्रमित थपिएको जानकारी दिनुभयो । त्यस्तै काठमाडौं उपत्यकामा २१२९ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ जनालाई कोरोना पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ५७७ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

हालसम्म नेपालमा १२ लाख ७ हजार ९१ जनाको पिसिआर परीक्षण गरिएको पनि उहाँले जानकारी दिनुभयो । आजको तथ्यांकसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख १९ हजार ४०५ जना पुगेको छ । आज ३५ हजार ९१५ जना सक्रिय संक्रमित रहेका छन । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १५०३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

यो सहित डिस्चार्ज हुनेको कुल संख्या ७८ हजार ७८० पुगेको छ । स्वास्थ्य प्रवक्ता गौतमका अनुसार डिष्चार्ज हुनेमा प्रदेश १ मा ६८३४, प्रदेश २ मा १५१११, बागमति प्रदेशमा ३०४२९, गण्डकी प्रदेशमा ४२९०, लुम्बिनि प्रदेशमा १०९७९, कर्णाली प्रदेशमा ३४९८ र सुदुरपश्चिम प्रदेशमा ७६३९ जना कोभिड संक्रमणबाट मुक्त हुनुभएको छ । मन्त्रालयका अनुसार आजसम्म डिस्चार्ज हुनेको यो संख्या ६८.३ प्रतिशत हो ।

संस्थागत आइसोलेसनमा १५ हजार ४८ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा २० हजार ८६७ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ४ हजार ७९५ रहेको छ । प्रवक्ता गौतमका अनुसार पाँच सय बढी सक्रिय संक्रमित जिल्लाहरु मोरङ, सुनसरी, सुर्खेत, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, दाङ, बाँके र रुपन्देही रहेको छ भने मनाङ मात्रै संक्रमण शून्यमा झरेको छ।