जनता टाइम्स

३ कार्तिक २०७७, सोमबार ०१:१८

अव करार होइन, यसरी हुनेछ स्थायी नियुक्ति


काठमाडौं, कात्तिक ३ । रेल्वे कम्पनीले बहुप्रतिक्षित कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालनका लागि एकैपटक स्थायी कर्मचारी भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ । यसअघि करार कर्मचारीबाट नै तत्काल रेल सेवा सञ्चालन गर्न कर्मचारी भर्नाका लागि सूचना गरिएको थियो ।
रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले रेल सेवालाई स्थायी रूपमा सञ्चालन गर्न अन्ततः स्थायी कर्मचारी नै चाहिने भएकाले एकैपटक स्थायी कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।

“छ महिनाका लागि करारमा कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरिएको थियो तर करार अवधि समाप्त भएपछि पुनः कर्मचारीलाई भर्ना गर्नै पर्ने अवस्था तथा करारको अवधि समाप्त भएपछि जागिर छोड्न नचाहने र हटाइएको खण्डमा विभिन्न झन्झट हुने भएकाले एकैपटक स्थायी कर्मचारी भर्ना गर्न लागिएको हो,” महाप्रबन्धक भट्टराईले भन्नुभयो । करार प्रक्रियाबाट कर्मचारी भर्ना गर्दा विभिन्न किसिमको टीकाटिप्पणीसमेत आउन सक्ने भएकाले कर्मचारी भर्नालाई विवादरहित बनाउन तथा रेल्वे सञ्चालनलाई स्थायित्व प्रदान गर्न एकैपटक स्थायी कर्मचारी भर्ना गरिन लागिएको उहाँको भनाइ छ ।

यसअघि नेपाल रेल्वे कम्पनीले स्टेसन मास्टर, टिटी, क्यासियर, गार्ड, प्रशासन, लेखा लगायतका २९ वटा पदमा १२९ जना करार कर्मचारी भर्ना गर्नका लागि दरखास्त आह्वान गरेको थियो । दरखास्त आह्वान गरिएको अन्तिम दिनसम्म ३२ हजार ६८६ जनाले आवेदन दिएका थिए । दरखास्त दिने अन्तिम म्याद असोज १२ गतेसम्म थियो । “स्थायी कर्मचारी भर्नाका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र लोकसेवा आयोगबीच अहिले अन्तिम चरणको छलफल भइरहेको छ ।

महाप्रबन्धक भट्टराईका अनुसार स्थायी कर्मचारी भर्ना प्रक्रियामा अहिले करारका लागि आवेदन दिएकाहरू स्वतः सहभागी हुनेछन् भने अन्य इच्छुकका लागि पुनः दरखास्त आह्वान गरिनेछ र सबैको परीक्षा प्रक्रिया एकैसाथ सुरु हुनेछ । महाप्रबन्धक भट्टराईका अनुसार कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालनका लागि नेपाल रेल्वे कम्पनीले अर्थ मन्त्रालयबाट बीस करोड रुपियाँ ऋण लिएको छ। पाँच प्रतिशत ब्याजदरमा दस वर्षभित्र चुक्ता गर्ने गरी सो ऋण लिइएको हो। सोही रकमबाट नै कर्मचारीको तलब सुविधा लगायतको खर्च गरिनेछ ।