जनता टाइम्स

१२ कार्तिक २०७७, बुधबार ०८:५०

पुष्पाका लागि बरदान बन्यो राष्ट्रपति महिला उत्थान कार्यक्रम, दशैं बिदामा पनि यसरी गरियो हवाई उद्धार


बागलुङ, कात्तिक १२ । सुत्केरीपछि अत्याधिक रक्तश्राव भई ज्यान नै जोखिममा परेकी बागलुङको बडिगाड गाउँपालिका–८ रणसिंह किटेनीकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

घरमै सुत्केरी हुँदा अत्याधिक रक्तश्राव भएपछि स्थानीय पुष्पा श्रीसलाई सोमबार प्राथमिक स्वास्थ्य केन्द्रभ बुर्तिवाङ्ग लगिएको थियो । प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभए पछि उहाँलाई थप उपचारको लागि गण्डकी अस्पताल पोखरा लगिएको हो । गण्डकी अस्पताल पोखरामा उपचाररत श्रीसको अवस्था सुधार उन्मुख रहे पनि बच्चा भने बचाउन नसकिएको स्थानीयवासी कमल पौडेलले जानकारी दिनुभयो ।

सुत्केरी पुष्पा र उहाँका श्रीमान इमानसिंह श्रीस दुवै जना शिक्षक हुनुहुन्छ । दुर्गम क्षेत्रका सुत्केरी अघि तथा सुत्केरी पश्चात कठिन हुने महिलाको ज्यान बचाउने उद्देश्यले संचालित राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा श्रीसको उद्धार गरिएको थियो ।

दशैको दिन सुत्केरीको अवस्था जटिल भएको कारण हेलिकप्टर संयोजनमा कठिनाई भएको थियो । ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली र बूर्तिवाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रको संयोजनमा हेलिकप्टरको व्यवस्थापन गरिएको थियो । सरकारले जुनसुकै समयमा ज्यान जोखिममा परेका महिलाको उद्धार गर्दै आएको छ ।