जनता टाइम्स

१३ कार्तिक २०७७, बिहीबार १६:०८

कार्यबिभाजनपछि ओली–प्रचण्ड : को सही, को गलत ?


यसिमा महत/काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले पार्टीको समग्र बिवाद समाधानसहित दुई अध्यक्षको कार्यबिभाजन गर्यो । बिवाद समाधान कार्यदलको सिफारिशअनुसार प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले सरकार सञ्चालन गर्ने र अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले पार्टी काम अघि बढाउने निर्णय स्थायी कमिटी बैठकले गर्यो । बैठकको निर्णयपछि देशभरका नेता कार्यकर्ता मात्रै होइन, मतदातासमेत खुसी भए । अध्यक्ष तथा प्रधानमन्त्री ओली पार्टीले तोकेको जिम्मेवारीअनुसार सरकारको काममा केन्द्रित हुनुभयो । तर कार्यकारी अध्यक्ष प्रचण्डको ध्यान पार्टी काममा पर्दै परेन ।

स्थायी कमिटी बैठकपछि जारी अन्तर पार्टी निर्देशनमा दुई अध्यक्षको कार्यबिभाजनबारे भनिएको छ, ‘अध्यक्ष कमरेड केपी शर्मा ओलीले प्रतिनिधिसभाको यो कार्यकाल भरी प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने र सरकारको काममा केन्द्रित हुने । अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अधिकारसहित पार्टीका बैठकहरूको सञ्चालन, निर्णयहरूको कार्यान्वनय र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुने ।’

यस्तो छ कार्यबिभाजन
अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने
पार्टीमा दुई अध्यक्षात्मक व्यवस्थाको समझदारीपूर्ण एवं प्रभावकारी कार्यान्वयन हुन नसक्दा शीर्ष नेतृत्व तहमा अविश्वास र अन्तर्विरोध उत्पन्न हुने गरेको छ । एउटा समस्या समाधान भएको केही समय नबित्दै नयाँ रूप र स्तरमा अर्को समस्या आइलाग्ने गरेको छ । यस अवस्थाको नकारात्मक प्रभाव समग्र पार्टी तथा सरकारको काममा समेत परिरहेको छ । वैधानिक व्यवस्थामा विद्यमान अस्पष्टतालाई स्पष्ट पार्दै पारस्परिक विश्वास र सहमतिका आधारमा यो समस्याको समाधान गर्नुपर्दछ । यसका लागि अध्यक्षद्वयको कार्यविभाजन र कार्याधिकार निम्नानुसार स्पष्ट गर्ने :

क. अध्यक्षद्वयको परामर्शमा महासचिवले सचिवालय, स्थायी कमिटी, पोलिटव्यूरो तथा
केन्द्रीय कमिटी बैठकका लागि कार्यसूची तयार गर्ने र बैठक बोलाउने । सम्बन्धित कमिटीको बैठकमा कार्यसूची पेश गर्ने, पारित गर्ने र तदनुरूप बैठक सञ्चालन गर्ने ।

ख. अध्यक्ष कमरेड केपी शर्मा ओलीले प्रतिनिधिसभाको यो कार्यकाल भरी प्रधानमन्त्रीको  जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने र सरकारको काममा केन्द्रित हुने ।

ग. अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अधिकारसहित पार्टीका बैठकहरूको सञ्चालन, निर्णयहरूको कार्यान्वनय र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुने ।

घ. अध्यक्षद्वयले पार्टी र सरकारबीचको आपसी सम्बन्धलाई संस्थागत रूपमा अघि बढाउन समन्वय गर्ने । सामुहिक नेतृत्व तथा व्यक्तिगत जिम्मेवारीको संस्थागत प्रणाली अवलम्बन गर्ने र सबल तुल्याउने ।

स्थायी कमिटीले यस्तो जिम्मेवारी तोके पनि कार्यकारी अध्यक्षले पार्टीको काममा सामान्य ध्यानसमेत दिनुभएको छैन । बैठक सम्पन्न भएको दुई महिना पुग्न लाग्दासमेत उहाँले जिम्मेवारीअनुसारको परिभाषित काम गर्नुभएको छैन । उहाँको ध्यान पार्टी काममा भन्दा नियुक्ति, सरुवा बढुवा, चितवनमा बजेट थुपारेर काजग मिलाउँदै आफ्नो भँडारमा जम्मा गर्नेतिर मात्रै देखिएको नेकपाकै नेताहरु बताउँछन ।

‘कार्यकारी अध्यक्षको ध्यान पार्टी काममा छँदैछैन, पार्टीको काम अघि बढाउन पनि चाहिरहनु भएको छैन, उहाँको ध्यान त कसरी सरकारलाई काम गर्न नदिने, आफ्नो मान्छे नियुक्त गराउने भन्नेतिर मात्रै रहेको छ,’ नेकपा स्थायी कमिटीका एक नेताले जनताटाइम्ससँग भने, ‘कांग्रेसबाट नेकपामा प्रवेश गराएर भएपनि परिवारका सदस्यलाई नियुक्त दिने, सरकारलाई काम गर्न नदिने र अस्थिरता सिर्जना गराएर कम्युनिष्टबिरोधी जनमत सिर्जना गर्ने काममा प्रचण्ड लाग्नुभएको देखियो ।’

स्थायी कमिटी बैठकपछि अध्यक्ष प्रचण्डले आफ्नो जिम्मेवारीतिर ध्यान नदिँदा केन्द्रीय कमिटी बैठकदेखि महाधिवेशनसम्म प्रभावित बनेको छ । यतिसम्म कि कर्णाली प्रदेशमा समस्या मिलाउनु भन्दा समस्या बल्झाउने काममा अध्यक्ष प्रचण्ड लाग्नुभएको ती नेताले बताए । ‘पार्टीको हितबाहेक सवै काम उहाँले गरिरहनु भएको छ, उहाँका योजना र कदमहरु कसरी सरकार असफल बनाउन सकिन्छ भन्नेतिर मात्रै रहेको देखिन्छ,’ ती नेताले जनताटाइम्ससँग भने । यतिसम्म कि उहाँले कार्यकारी अध्यक्षसहित पार्टी कामको जिम्मा पाएपछि सचिवालयको एउटा बैठक र एक सार्वजनिक कार्यक्रममा बाहेक पार्टी केन्द्रीय कार्यालय धुम्बाराही र कोटेश्वरमा पाइलासमेत टेक्नुभएको छैन ।