जनता टाइम्स

१५ कार्तिक २०७७, शनिबार ०७:५७

कोरोनासँग मिल्दोजुल्दा लक्षण देखिए तत्काल पिसिआर परीक्षण गर्नुपर्छ : डा. अनुप सुवेदी


काठमाडौं, कात्तिक १५ । सरुवा रोग विशेषज्ञ डा. अनुप सुवेदीले कोरोना भाइरस (कोभिड १९) सँग मिल्दाजुल्दा लक्षण देखिए तत्कालै पिसिआर परीक्षण गर्न सुझाव दिनुभएको छ । सरुवा रोग विशेषज्ञ सुवेदीले ट्विट गर्दै कोभिडका जस्ता लक्षण देखिए पिसिआर परीक्षणमा ढिला गर्न नहुने सुझाव दिनुभएको हो ।

ज्वरो, खोकी, अरू बेलाभन्दा फरक/बढी टाउको/जिउ दुख्ने वा जिउ गल्ने/कमजोर हुने, गन्ध वा स्वाद हराउने, पखाला चल्ने आदि लक्षण कोरोना संक्रमणमा पनि देखिने गरेका छन । यस्ता लक्षण देखिएको खण्डमा तत्कालै कोरोना भाइरसको परीक्षण गरी निक्र्याैल गर्न डा. सुवेदीले सुझाव दिनुभएको हो । कोभिडसँग मिल्दाजुल्दा लक्षण देखिए पिसिआर परीक्षण गरिहाल्नु जरुरी किन छ भनेर सुवेदीले तीन कारणसमेत प्रस्तुत गर्नुभएको छ ।

यस्तो छ सुवेदीको सुझाव

१. यदि सिकिस्त भइयो भने तुरुन्त सही उपचार शुरु गर्न पाइन्छ । अनावश्यक र हानीकारक उपचार (जस्तै एन्टिबायोटिक्स, १० थरी भिटामिन आदि) पनि गर्नुपर्दैन । लक्षण शुरु भएको ८–९ दिनमा अक्सिजन कम भएर सिकिस्त भएर अस्पताल आइपुग्दा पनि पिसिआर पहिल्यै नगरेको हुनाले फेरि पिसिआर पठाएर नतिजालाई थप १–२ दिन कुर्दाकुर्दै झन सिकिस्त भएर भेन्टिलेटर चाहिएको धेरै देखिसकियो ।

२. कोभिडमा ज्वरो, जिउ दुख्ने, घाँटी दुख्ने जस्ता लक्षण शुरुका केही दिनपछि धेरैमा हराउँछन वा मत्थर हुन्छन, अनि दोस्रो हप्तातिर एक्कासी ज्वरो, स्वाँ स्वाँ बढ्ने, अक्सिजन चाहिने हुन्छ । प्रायः बिरामीले १–२ दिन देखिएर लक्षण हराएपछि वास्ता गर्न छोड्छन, पिसिआर गर्न आवश्यक ठान्दैनन । तर जाँच गर्दा रोगको पहिचान हुने संभावना भने लक्षण शुरु भएको बेलातिर सबैभन्दा बढी हुन्छ, केही दिनमै पिसिआरको पहिचान गर्ने क्षमता धेरै घट्छ । झन दोस्रो हप्तामा सिकिस्त भइसकेपछि परीक्षण गर्दा पोजिटिभ देखिने संभावना धेरै कम हुन्छ । र सही उपचार नपाउने, गलत उपचार पाउने संभावना पनि बढ्छ ।

३. मानौं तपाईं अस्पतालमा अक्सिजन चाहिने अवस्थामा पुग्नुभयो, तर पिसिआर भएको छैन । कोभिडको पुष्टि भइसकेकालाई अरू कोभिडका बिरामीसँगै एउटै वार्ड वा कोठामा राख्न मिल्छ । तर कोभिडको शंका मात्र भएका तर पुष्टि नभएकालाई सँगै राख्न मिल्दैन । छुट्टै कोठामा एक्लै राख्नुपर्छ, नत्र सँगै राखिएका एकलाई कोभिड रहेछ र अरूलाई रहेनछ भने अरूलाई पनि सर्ने खतरा हुनेभो । त्यसैले तपाईंलाई भर्ना गर्न एक्लै छुट्टै कोठा मिल्नुपर्यो, जुन अचेल एकदम दुर्लभ छ ।

कोभिड वार्डमा जति बेड खाली भए पनि तपाईंलाई राख्न मिलेन । त्यसैले कोभिडको लक्षण देखिनेले कम्तीमा पिसिआर चाँडो गरिहाल्नु जरूरी छ । अनि चाँडो नतिजा थाहा पाउँदा आफ्ना परिवारका मान्छे र अरू संपर्कमा आएकालाई जोगाउन पनि उति नै संभव हुने नै भयो ।