काठमाडौँ, कात्तिक १७
अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरु युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध संसदीय सुनुवाई समितिमा गम्भिर खालका उजुरी परे । उजुरी नै गम्भिर परेपछि उजुरीकर्ता आउलान् र आरोप प्रमाणित होला भन्ने आश कतिपयलाई थियो । तर, राजनीतिमा आरोप लगाउने र प्रमाणित गर्नु नपर्ने समुह यहाँ पनि सक्रिय रहेको खुलासा भएको छ।
उजुरी दिने व्यक्तिहरुलाई पटक पटक सम्पर्कमा आउन भन्दा पनि अनुपस्थित भएपछि उहाहरुमाथिको सुनुवाइ कात्तिक २७ गते हुने भएको छ । सोमबार संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी दिने व्यक्तिहरुलाई छलफलका लागि बोलाए पनि उनीहरु उपस्थित नभएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । उजुरीकर्तालाई पटक–पटक फोन गरेर सूचित गर्दा र गोरखापत्रमा सार्वजनिक सूचनामार्फत उपस्थित हुन आग्रह गरिए पनि उनीहरु नआएको सभापति कर्णले बताउनु भयो ।
त्यस्तै समितिका सदस्यहरु देव गुरुङ र निरु पाल कोरोना संक्रमणका कारण बैठकमा उपस्थित नभएकाले केही सदस्यले सुनुवाइ सार्न आग्रह गरेका थिए । सदस्य गुरुङ आफैले पनि प्रस्तावित राजदूतहरुमाथिको सुनुवाइ केही दिनपछि सार्न आग्रह गरेका थिए । त्यस्तै समितिका सदस्यहरु पूर्णकुमारी सुवेदी र सुरेन्द्र पाण्डेले पनि गुरुङ र पाललाई कुर्न आग्रह गरेका थिए ।
संसदीय सुनुवाइ समितिका अनुसार प्रस्तावित राजदूतहरू खतिवडा र रेग्मीविरुद्ध अनियमितता, कार्यसम्पादन, नीतिगत भ्रष्टाचार लगायतका विषयमा उजुरी परेका थिए । राज्यका विभिन्न निकायमा पटकपटक अवसर पाएका पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका पूर्वआर्थिक सल्लाहकार खतिवडाविरुद्ध तीन उजुरी परेका थिए । संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदित भएपछि राष्ट्रपतिले राजदूतहरूको नियुक्ति गर्ने कानुनी व्यवस्था रहेको छ ।













प्रतिक्रिया दिनुहोस्