काठमाडौं, कात्तिक १८
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी कमिटीले सरकारलाई मन्त्रिपरिषद् पुनर्गठन गर्न भनेको थियो । सो अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले तयारी गरेपनि अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले नाम नदिदाँ पुनर्गठन हुन नसकेको खुलासा भएको छ ।
सचिवालय बैठकमै प्रधानमन्त्री ओलीले दुई वर्ष कार्यकाल पुरा गरेका मन्त्रीलाई विदा गर्ने र नयाँ मन्त्री चयन गर्ने योजना सुनाउनु भएको थियो । दुई वर्षे कार्यकाल पुरा गरेकामध्ये केहीलाई निरन्तरता दिने पक्षमा प्रधानमन्त्री रहनु भएको थियो । दुई वर्षे कार्यकाल पुरा गर्नेमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, भूमिसुधारमन्त्री पद्मा ज्ञवाली, खानेपानीमन्त्री बिना मगर, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत, खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)रहनु भएको छ ।
स्रोतका अनुसार कार्यकारी अध्यक्ष प्रचण्ड कुनैपनि हालतमा आफ्नी बुहारी बिना मगरलाई मन्त्रीबाट नहटाउने पक्षमा उभिनु भएको छ । मेलम्चीको पानी काठमाडौं ल्याउछु भनेर महिनेपिच्छे भाका राखेपनि करिब ३ वर्षसम्म कहिले पानी काठमाडौं आउछ भनेर ग्यारेन्टि गर्न नसकेपछि उहाको काममा पटक पटक प्रश्न उठिरहेको छ । पुराना मन्त्रीलाई निरन्तरता दिईरहँदा नयाले अवसर नपाउने भएपछि पुनर्गठनको तयारी गरेर प्रधानमन्त्री ओलीले प्रचण्डसँग नाम माग्नु भएको थियो ।
प्रचण्डको योजनाअनुसार ओलीलाई हटाउन प्रयोग गरेका हरेक हतकण्ठामा आफुलाई साथ नदिने पूर्वमाओवादी खेमाका गृहमन्त्री थापा, उद्योगमन्त्री लेखराज भट्टलाई कुनै पनि हालतमा हटाउनुपर्ने अडान लिनु भएको थियो । लामो समयको हठका कारण विगतमा पूर्वएमालेको पक्षबाट मन्त्री बनेका र खाली मन्त्रालयमा प्रधानमन्त्रीले नियुक्ति गर्नुभएको एक नेताले जानकारी दिनुभयो । लामो समय मन्त्री नहुँदा काममा समेत असर परेको र प्रचण्डले नामनै नदिएपछि पुनर्गठन तिहारपछि गर्नेगरी प्रधानमन्त्रीले नयाँ मन्त्री नियुक्त गर्नुभएको हो । त्यसमा पनि कार्यकारी अध्यक्ष प्रचण्डले निहुँ खोजेको उनिहरुको भनाई छ ।
‘विगतमा माओवादीबाट मन्त्री बनेका ठाँउमा प्रचण्डले भनेकै मान्छे राख्नुपर्ने र एमालेको भागमा परेको मन्त्रालयमा पनि उहाले नै भनेका मान्छे राख्ने भए प्रधानमन्त्री किन चाहियो’, ति नेताको भनाई छ । उपप्रधानमन्त्री एंव नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलका अनुसार पनि आफुलाई मनपरेकालाई हटाउनुपर्ने र टार्गेट गरेका पात्र रहिरहने मनोदशा हावी भएका कारण पुनर्गठन हुन नसकेको बताउनु भयो ।
‘दुई वर्षको मापदण्ड राखेपछि आफ्ना प्रिय पात्र हट्ने भए र आफुले नचाहेको हटाउनै पर्छ भनेर टार्गेट गरेको पात्र रहने भो भन्ने मनोदशा हावी भएपछि के हुन्छ’, उहाले भन्नुभयो, ‘त्यो मनोदशा हावी भएपछि त्यसपछि पुनर्गठनको कुरा त भएन । यो पुनर्गठन चाँडो हुनुपर्छ ।’ उहाले प्रधानमन्त्रीको पदमा जो भएपनि आफुलाई सजिलो हुने हिसाबले मन्त्रिमण्डल पुनर्गठन गर्नसक्छ, हेरफेर गर्न सक्छ र त्यसलाई हामीले सुनिश्चित गर्न सक्नुपर्ने धारणा राख्नुभयो ।
प्रतिक्रिया दिनुहोस्