जनता टाइम्स

२३ कार्तिक २०७७, आईतवार ००:०७

ह्वात्तै बढ्यो नेपाल टेलिकमको ह्याप्पी लर्निङ प्याकेज किन्नेको संख्या, यी हुन मुख्य आकर्षण


काठमाडौं, कात्तिक २३ । नेपाल टेलिकमले सुरु गरेको ह्याप्पी लर्निङ्ग प्याकको लोकप्रियता ह्वात्तै बढेको छ । लकडाउनको समय बढेसँगै शैक्षिक शत्र नै खेर जाने अवस्था आएपछि बैकल्पिक शिक्षा संचालनका लागि नेपाल टेलिकमले सुरु गरेको ह्याप्पी लर्निङ्ग प्याक पछिल्लो समयमा सवै सिमकार्डबाट सहजै सेवा लिन पाउने भएसँगै लोकप्रिय बनेको हो ।

नेपाल टेलिकममा सहप्रवक्ता रंजित लोहिया यो प्याकमा अहिले हजारौं प्रयोगकर्ता जोडिएको बताउनुहुन्छ । अहिले दैनिक रुपमा एक हजारभन्दा धेरै प्रयोगकर्ताहरु जोडिएको लोहियाले जानकारी दिनुभयो । उहाँका अनुसार लकडाउन यतामात्रै नेपाल टेलिकमबाट हजारौं विद्यार्थी तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकले सेवा लिइसकेका छन । पछिल्लो समय जुम मिटिङ लगायतका कार्यहरु गर्ने संस्थाहरुले समेत यसमा चासो दिन थालेको लोहियाको भनाई छ । ‘अहिले धेरै संघ संस्थाहरुले समेत मिटिङ लगायतको काम गर्न यो सेवा सुरु गर्नुभएको छ,’ सहप्रवक्ता लोहियाले भन्नुभयो ।

नेपाल टेलिकमले सुरुमा विद्यार्थी तथा शिक्षकको लागि ह्याप्पी लर्निङ्ग प्याक ल्याएको थियो । टेलिकमले असोज २९ बाट सबैमा ह्याप्पी लर्निङ्ग प्याक खुल्ला गरेको छ । यो प्याक लिन केही समय प्रवेशपत्र वा विद्यालयको सिफारिस आवश्यक परे पनि असोज २९ बाट नेपाल टेलिकमका सिमकार्ड प्रयोगकर्तालाई सबैलाई दिने सुविधा दिएसँगै सुविधा लिनेको संख्या ह्वात्तै बढेर हजारौं पुगेको नेपाल टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले अनलाइन माध्यममार्फत कक्षा सञ्चालनको लागि सस्तो मूल्यमा डाटा उपलब्ध गराउन योजना सुरु गरेको थियो । मुलुकभरका विद्यालयस्तरका विद्यार्थीहरुले टेलिकमले उपलब्ध गराइरहेको न्यूनतम मुल्यको ‘ह्याप्पी लर्निङ प्याक’ सहज रुपले प्रयोग गरेका थिए । अहिले यो प्याकबाट ग्रामीण क्षेत्रमा बस्ने विद्यार्थीहरुलाई सहज भएको नेपाल टेलिकमले जनाएको छ ।

देशभरका विश्वविद्यालय, आङ्गिक क्याम्पस तथा सामुदायिक क्याम्पसका शिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्तालाई उपलब्ध गराइएको ‘ह्याप्पी लर्निङ प्याक’ विद्यालयस्तरका विद्यार्थी तथा शिक्षकका लागि पनि उपलब्ध गराउने योजनासहित भदौबाट कार्यान्वयन भएको थियो ।निकै सस्तो मूल्यमा उपलब्ध हुने यो प्याकेजप्रति आकर्षण बढेसँगै यसको प्रयोगकर्तासमेत बढेको सहप्रवक्ता लोहियाले जानकारी दिनुभयो । यो योजनामा ३१५ रुपैयाँमा २४ जीबी र ५०० रुपैयाँमा ३५ जीबी डेटा उपलब्ध हुनेछ ।

२४ जीबी डेटामध्ये २० जीबी डेटा जूम, माइक्रोसफ्ट टिम्स र गूगल मीटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी चार जीबी डेटा अन्य कुनै पनि एप्लिकेसनमा प्रयोग गर्न सकिने छ। ३५ जीबीको अर्को प्याकेजमा ३० जीबी डेटा जूम, माइक्रोसफ्ट टिम्स र गूगल मीटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी पाँच जीबी डेटा अन्य कुनैपनि एप्लिकेसनमा उपयोग गर्न सकिनेछ । यी दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ । यो प्याक लिनको लागि नेपाल टेलिकमको प्रयोगकर्ताले *1441# मा डायल गरेर लिन सकिनेछ ।