ताप्लेजुङ, कात्तिक २३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु एकअर्काप्रति आक्रामक बनिरहेको बेला जनताले भने एकजुट भएर अघि बढन सन्देश पठाएका छन ।
नेकपाभित्र विवाद चुलिएका बेला ताप्लेजुङका जनताले आफ्ना प्रतिनिधिसमेत रहनुभएका पर्यटनमन्त्री योगेश भट्टराईमार्फत पार्टी फुटाएर नेता गाउँ आए ‘सिरुपाते खुकुरी लिएर खेद्ने’ चेतावनीसहित एकताका लागि कडा सन्देश पठाएका हुन । ताप्लेजुङको मिक्वाखोला– ३ लिबाङका जनताले पार्टी बिभाजन गरे क्षमा नदिने सन्देश पनि पठाएका छन । गृहजिल्ला गएका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री भट्टराईसमक्ष लिबाङका स्थानीयले भने, ‘खेदनु पर्ने अवस्था नआवस ।’
पर्यटनमन्त्री भट्टराईले सम्बोधन गर्ने कार्यक्रममा उपस्थित लिबाङका बलनाथ लिबाङले केन्द्रमा पार्टी फुटाएर गाउँमा भोट माग्दै आए सिरुपाते खुकुरी लिएर खेद्ने आफूहरुको निश्कर्ष सुनाउनु भयो । ‘नेता सही भए मात्र देश सही दिशामा जान्छ, फुटाएर आए खेदिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘केपी ओली, पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाललाई पार्टी जोगाउने यो मेरो सन्देश सुनाइदिनुस ।’ अर्का ७४ वर्षीय वृद्ध नारायण लिम्बूले पनि यही सन्देश पठाउनु भयो ।
प्रतिक्रिया दिनुहोस्