काठमाडौं, कात्तिक २४
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको नाम नेपालमात्रै लेख्ने निर्णयको विरोध भएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाले संविधानले नै नेपाल नाम मात्र उल्लेख गरेको बताउनु भयो । मन्त्रिपरिषद्ले देशको नाम लेख्दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपाल मात्र लेख्ने निर्णय गरेको थियो । त्यसमा केही विरोध देखिएपछि उहाले संविधान पढ्न आग्रह गर्नुभएको छ ।
एक टेलिभिजन अन्तर्वार्तामा उहाले भन्नु भएको छ, ‘हामीले जारी गरेको संविधान के को संविधान हो ? नेपालको संविधान हो । त्यसमा नामै नेपालको संविधान छ । प्रस्तावानामा …संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली भएको संविधान जारी गरेका छौं भनेर लेखेको छ ।’ उहाले नेपाल देशको नाम भएपनि शासकीय प्रणाली भने संघीय लोकतान्त्रिक गणतन्त्र रहेको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले संविधानमै नेपालको झण्डा, निशान छाप, राष्ट्रिय चिन्ह भनेर उल्लेख गरिएको भन्दै देश नेपाल नै भएको उल्लेख गर्नुभयो । ‘शासकीय प्रणाली के हो भन्दा संघीय लोकतान्त्रिक गणतन्त्र, देश होइन् प्रणाली हो त्यो । देश चाँही नेपाल नै हो’, उहाले अगाडी भन्नुभयो, ‘देशको नाम, राज्य व्यवस्था, प्रणाली यी फरक फरक हुन् । निशान छाप हेर्नुहोस्, नेपालको राष्ट्रिय निशान छाप, नेपालका राष्ट्रिय चिन्ह, नेपालको राष्ट्रिय झण्डा भनेर अनुसूचि राखिएको छ । संविधानको प्रस्तावना पढेहुन्छ ।’
उहाले कतिपयले संविधानको धारा ४ को कुरा उठाएको भन्दै त्यहा पनि स्पष्ट रुपमा नेपाल नै उल्लेख गरेको बताउनु भयो । ‘संविधानको धारा ४ मै स्पष्ट रुपमा लेखिएको छ, नेपाल एक स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर । अब के यो सबै उल्लेख गरेर अन्तिममा नेपाल लेख्नुपर्ने हो’, उहाको प्रश्न छ ।
प्रतिक्रिया दिनुहोस्