जनता टाइम्स

२५ कार्तिक २०७७, मंगलवार १४:०९

बामदेव गौतमको खुलासा : केपी ओलीलाई दुवै पदबाट हटाउनकै लागि सचिवालयको गठबन्धन बनेको हो


काठमाडौं, कात्तिक २५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुवै पदबाट हटाउनकै लागि सचिवालयको गठबन्धन बनेको र सो कामका लागि आफूहरुको अभियान अन्तिम चरणमा पुगेको खुलासा गर्नुभएको छ । केही दिनअघि आफूलाई भेटन आएका पार्टी निकट गैरआवासीय नेपाली नेताहरुसँग उपाध्यक्ष गौतमले यस्तो तथ्य खोल्नुभएको हो ।

‘अव कसैको कुनै पनि कुरा सुनिन्न, उनलाई सकाइन्छ, केपीलाई साथ दिनेलाई पनि सकाइन्छ, यो कामका लागि हामीले स्पष्ट रोडम्यापसहितको निर्णय गरिसकेका छौं,’ उपाध्यक्ष गौतमको भनाई उधृत गर्दै भेटमा सहभागी एक सदस्यले जनताटाइम्ससँग भने । उनका अनुसार उपाध्यक्ष गौतमले अव आफू र प्रचण्ड ज्यान गए पनि ओलीसँग मिल्न नसक्ने बटमलाइन सुनाउनु भएको छ । ‘कार्वाही गरेर निकाल्न माधवजी मानिरहनु भएको छैन, माधव सहमत हुनसाथ ओलीलाई निकाल्न कुनै आइतवार कुर्नु पर्दैन, हामी तयारी अवस्थामै छौं,’ गौतमको भनाई थियो ।

गौतमले आफूलाई अध्यक्ष ओलीले पटक पटक धोका दिएकोले प्रचण्डतिर समाहित हुनपरेका भन्दै अहिले सचिवालयका नेताहरुबीच भइरहेको बिवाद ओलीलाई दुवै पदबाट हटाउनकै लागि भएको जानाकरी पनि दिनुभएको थियो । ‘ओलीलाई दुवै पदबाट हटाउनकै लागि सचिवालयको बहुमत जुटेको हो, सचिवालयको बहुमतले पहिला ओलीलाई दुवै पदबाट हटाउँछ, त्यसपछि ओलीलाई साथ दिने माथिदेखि तलसम्म कार्वाही गरेर निकाल्छ,’ उपाध्यक्ष गौतमको भनाई थियो । ती सदस्यका अनुसार ओलीमाथि बहुमतका नाममा कार्वाही गरेर दुवै पदबाट हटाउने बिषयमा बरिष्ठ नेता नेपाल भने सहमत भइनसकेको कारण अभियानले मुर्त रुप नलिएको जानकारी पनि गौतमले दिनुभएको थियो ।

ओलीबिरुद्ध अभियान चलाउनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय कमिटी गठन गरेको जानकारी पनि उपाध्यक्ष गौतमले दिनुभएको छ । प्रवक्ता श्रेष्ठको नाम भने पनि दुई सदस्यको नाम भने उहाँले जानकारी नदिएको ती सदस्यले बताए । गौतमका अनुसार सो कमिटीले ३० देखि ४० पेज लामो ओलीबिरुद्ध आरोप पत्र तयार पार्ने काम गरिरहेको छ । ओली सरकारले गरेको राम्रो कामलाई छोप्ने र नराम्रा काम बाहिर लगेर सवैतिर एकैपटक आक्रमण गर्ने र कार्वाही गरेर दुवै पदबाट हटाउने आफूहरुको योजना रहेको रोडम्याप पनि गौतमले सुनाउनु भएको थियो ।

ती सदस्यका अनुसार उपाध्यक्ष गौतमले ओली हटाउने योजनाको प्रमुख सुत्रधार प्रचण्ड र आफू रहेको तथा बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल बाध्यतावस आउनु परेको बताउनु भएको थियो । गौतमले आफूलाई अध्यक्ष ओलीले धोका मात्रै दिएको भन्दै राष्ट्रियसभा मनोनितको सिफारिश गरेर ओलीले नै अदालतमा मुद्दा दायर गराएर सांसद हुन नदिने षडयन्त्र गरेको आरोपसमेत लगाउनु भएको थियो । उपाध्यक्ष गौतमले जनताको बहुदलीय जनवादलाई समातेर अव आफूहरु अगाडि नजाने बटमलाइन पनि सुनाउनु भएको थियो । गौतमलाई भेटन कतार, युएइलगायत केही मुलकबाट फर्केका नेकपाका सदस्यहरु पुगेका थिए ।