काठमाडौं, मंसिर १०
बर्दिबासमा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा अवज्ञा गर्दै स्थानीयले बिरोध प्रदर्शन गरेका छन् । ६ वर्षीया बालिका गुलबसा खातुनको हत्याको विरोधका क्रममा भएको प्रदर्शनका क्रममा थप एक जनाको प्रहरीको गोली लागेर मृत्यु भएपछि स्थानियले बर्दिबासचोकमा प्रदर्शन गरिरहेका कारण सम्भावित अप्रिय घटनालाई रोक्न स्थानीय प्रशासनले बिहान ९ बजेदेखि भोलि बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरेपनि आक्रोशित स्थानीयले बिरोध प्रदर्शन गरेका हुन् ।
हिजो प्रहरीको गोली लागी घाइते भएका सञ्जय भनिने बर्दिबास–१ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएपछि बर्दिबासबासी झनै आक्रोशित भएका छन् । स्थानीयले नाराबाजी गर्दै–६ वर्षिया बालिकाको हत्या आरोपित अरुण कुमार साहलाई कडा कारबाही, प्रदर्शनको क्रममा प्रहरीको गोली लागि मृत्यु भएका सञ्जय न्यौपानेलाई सहिद घोषणा, गोली चलाउने प्रहरी र गोली चलाउन आदेश दिनेलाई तुरुन्त निलम्बन गरी कारबाही गर्नुपर्ने लगायतका माग राखेर सडकमा उत्रिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा जारी गरेपनी प्रदर्शनकारीले बिहानैदेखि पूर्व–पश्चिम राजमार्ग ठप्प पार्दै प्रदर्शन गर्दै आएका छन् भने दर्जनौँ सवारी साधन समेत तोडफोड गरेका छन् । नाराबाजी गर्दै प्रदर्शनकारीले राजमार्गमा टायर बालेर बाटो अवरुद्ध गरेका छन् । उनीहरुले प्रहरी दमन अन्त्य हुनुपर्ने माग समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्