जनता टाइम्स

२० मंसिर २०७७, शनिबार १८:५४

एजेन्डा बिनै नेकपाको स्थायी कमिटि बैठक आव्हान


काठमाडौं, मंसिर २०

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एजेन्डा बिना नै स्थायी कमिटी बैठक बोलाएको खुलासा भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको सचिवालय बैठकले बिना एजेण्डा स्थायी कमिटी बैठक बोलाएको हो ।

बहुमत पक्षले बैठक बोलाएकाले त्यसको एजेण्डा के हो ? भनि प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओलीले प्रश्न उठाउनु भएको छ । ‘बैठक बस्न त एजेण्डा तय हुनुपर्ने होला ? के छ त्यो बैठकको एजेन्डा ? अध्यक्षद्वयले एजेन्डा तय गरेपछि बैठक बस्ने होला ? एजेन्डा तय भएका छन् त ?’, बैठकमा प्रधानमन्त्री ओलीले उठाएको विषयमा एक सचिवालय सदस्यले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले मलाई हटाउने अभियानमा लाग्नु भएको हो भने हेक्का राख्नुहोस् महाधिवेशनसम्म पार्टी अध्यक्ष र आम चुनावअघि प्रधानमन्त्री नछाड्ने प्रस्ट विचार राखेको ति सदस्यले जानकारी दिनुभयो । ‘तपाईंहरूले विधि, पद्धति, प्रक्रिया बैठक भन्दै बहस गरिरहनुभएको छ । तलतल पनि बहस लगिराख्नुभएको छ’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सचिवालयका नेताले भने, ‘महाधिवेशन अघि पार्टी अध्यक्ष र आमचुनावअघि नै मलाई प्रधानमन्त्रीबाट हटाउन लागिएको हो भने बैठकको कुनै औचित्य छैन । म यी दुवै पद छाड्दिनँ ।’

उहाले ठोस प्रस्ताव, कार्यसूची र तयारी पनि नभएकाले स्थायी कमिटी बैठक कसरी बस्न सक्छ र त्यसले के गर्छ भनेर प्रश्न उठाउनु भएको थियो । स्रोतका अनुसार भोलिको स्थायी कमिटी बैठक बिना एजेन्डा बोलाएकोले प्रधानमन्त्री ओली सहभागी नहुने सम्भावना रहेकोसमेत बताएको छ । सचिवालय बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलि १ बजे स्थायी कमिटी बैठक धुम्बाराहीमा हुने निश्चित गर्दै पार्टीको संकट निवारण गर्नेबारेमा छलफल हुने बताउनु भएको थियो ।