जनता टाइम्स

२१ मंसिर २०७७, आईतवार १५:५१

नेकपाको स्थायी कमिटी बैठक एक साताका लागि स्थगित, केन्द्रीय कमिटी बैठक पनि सर्यो


काठमाडौं, मंसिर २१ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक एक साताका लागि स्थगित भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा एजेण्डाबिनै आज सुरु भएको स्थायी कमिटी बैठक अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले आफ्नो धारणा राखेसँगै एक साताका लागि स्थगित भएको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले सचिवालयमा राख्नुभएको प्रस्तावलाई स्थायी समिति सदस्यलाई बितरण गरिएको छ । स्थायी कमिटी बैठक स्थगित भएसँगै यही मंसिर २५ गतेका लागि तय गरिएको केन्द्रीय कमिटी बैठक पुस ५ गतेसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

‘आजको बैठकमा अध्यक्ष प्रचण्डले आजको बिशिष्ट, गम्भीर संकटपुर्ण पार्टी जीवनको परिस्थितिमा पार्टी एकतालाई केन्द्रमा राखेर संकटलाई सकारात्मक ढंगले समाधान गर्ने गरी छलफल गम्भीर र ब्यापक रुपमा अघि बढाउन अपिल गर्नुभएको छ । तत्पश्चात आन्तरिक छलफलहरु, अनापचारिक छलफहरु अघि बढाउन र स्थायी कमिटीमा बितरण गरिएका दुई अध्यक्षका प्रस्ताव र पत्रहरु अध्यनका लागि ७ दिनको समय दिइएको छ,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी हुनुभएन ।

ओलीले आफ्नो अनुपस्थितिको कारण जनाएर बैठकमा पत्र पठाउनु भएको छ । पत्रमा आफ्नो पूर्वमान्यता अध्यक्ष प्रचण्डको प्रस्तावलाई बैठकमा औपचारिक रुपमा छलफल गर्न नमिल्ने धारणा रहेकोले बैठकमा नआएको जानकारी दिनुभएको छ ।