जनता टाइम्स

२३ मंसिर २०७७, मंगलवार ०७:३६

प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक


काठमाडौँ,  मंसिर २३ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । आज मंगलबार बिहान ११ बजे बस्ने गरी सो बैठक बोलाइएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि सो बैठक बोलाइएको हो। ‘यो बेला बेला हुँदै आएको हो। प्रधानमन्त्रीले समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको हो,’ थापाले बताउनुभयो ।

बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरु सहभागी हुनेछन् । बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले यसअघि गएको जेठमा भारतले लिपुलेक-कालापानीमा नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएपछि छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको थियो ।