जनता टाइम्स

३ पुष २०७७, शुक्रबार १७:२५

गुट भेलापछि नेपाल पक्षका नेता भन्छन् : ‘हामी त पार्टीको बारे पो सोच्न बसेका त’


काठमाडौं, पुष ३

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का असन्तुष्ट पक्षहरु निरन्तर गुटको भेलामा सक्रिय छन् । खुल्ला र भर्चुअल माध्यमबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी फुट र निषेधको राजनीति कसरी अगाडी बढाउने भनेर प्रशिक्षण दिईरहेका छन् ।

पार्टीको जनवर्गिय संगठनको कार्यालय रहेको पेरिसडाँडामा यो समुहले आज गुटको भेला गरेको छ । भेलामा वरिष्ठ नेता नेपालले अब ओलीलाई हटाएर जानुपर्ने अवस्था आएकाले जिल्ला र प्रदेशमा आफ्नो कब्जा जमाउने रणनीति बनाउन निर्देशन दिनु भएको एक नेताले जनताटाइम्सलाई जानकारी दिनुभयो । नेता नेपालपछि बोल्नु भएका प्रचण्डले भने आफुहरु निषेधको नभई नियन्त्रणको राजनीतिमा केन्द्रीत रहेको बताउनु भयो ।

गुटको भेलापछि नेपाल समूहका नेताहरुले आफूहरु पार्टीको संस्थापन भएको दाबी गरेका छन् । नेता जगन्‍नाथ खतिवडाले पेरिसडाँडामा आयोजित भेला गुटको नभएको दावी गर्नुभयो । ‘यो गुट भेला होइन । हामी संस्थाबारे सोचिरहेका छौं । पार्टी, विधान जोगाउने गुट हुँदैन । हामीलाई गुट नभन्नुस् । जसले विधानको उल्लघंन गर्छ, त्यो गुट हुन्छ ।’