ललितपुर, पुस १७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता रामबहादुर थापा, बादलले संसद विघटन अग्रगामी कदम रहेको भन्दै यो नयाँ लडाइँमा आफूहरु विजयी हुने उदघोष गर्नुभएको छ । लगनखेलमा आज आयोजित ललितपुर महानगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्रीसमेत रहनुभएका नेता थापाले संसद बिघटन प्रतिगमन नभई अग्रगमन नै रहेको ठोकुवा गर्नुभएको हो ।
नेकपाभित्रको विभाजनलाई अग्रगमन र प्रतिगमनको संज्ञा दिनुभएका थापाले प्रधानमन्त्री केपी ओली नेतृत्वको पार्टी नै अग्रगमनका साथ अगाडि बढेको बताउनु भयो । ‘संसद विघटन संवैधानिक हो कि असंवैधानि ? प्रतिगामी कदम कि अग्रगामी भन्ने बहस छ । हाम्रो नजरमा यो अग्रगामी कदम हो, ठूलो राजनीतिक कदम हो । यो फेरि कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने कदम हो,’ गृहमन्त्री थापाले भन्नुभयो ।
संसद् विघटनको निर्णयपछि नेकपा विभाजन हुँदा प्रधानमन्त्री ओलीलाई साथ दिनुभएका थापाले प्रतिगमन र अग्रगमनको लडाइँमा आफूहरु नै विजयी हुने ठोकुवा गर्नुभयो । ‘नयाँ राजनीतिक परिस्थितिमा अग्रगमन र प्रतिगमनको अभियान देशव्यापी रुपमा सुरु भएको छ, हामीले विश्वास गर्नुपर्छ । यो नयाँ लडाइँमा हामी विजयी हुनेछौँ र हामीलाई राष्ट्रले दिएको जिम्मेवारी र जनताले दिएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्नेछौँ,’ थापाको भनाई थियो ।
नेकपा विभाजनपछि देशमा आइपरेको चुनौती सामना गर्न र पार्टी निर्णयको पक्षमा दृढतापूर्वक उभिन पनि उहाँले अपिल गर्नुभयो । ‘चुनौती सामना गर्न तपाईं हामी यहाँ एकढिक्का भएका छौं, एउटा संकल्प र प्रतिवद्धता व्यक्त गरेका छौं, पार्टीको निर्णयको पक्षमा दृढतापूर्वक उभिऔं, मध्यावधि निर्वाचनको मोर्चामा हामफालौँ र त्यहाँ सफल बनौं,’ थापाको भनाई थियो ।
उहाँले आफूहरु फुट र गुटको पक्षमा नभएर स्थायित्व र समृद्धिको पक्षमा रहेको पनि प्रष्ट पार्नुभयो । अहिले राष्ट्रको पक्षमा उभिने कि आत्मसमर्पणको पक्षमा उभिने भन्ने निर्णय गर्ने बेला आएको उहाँको भनाई छ । ‘हामी फुट र गुटको पक्षमा होइन, हामी पार्टीको पक्षमा उभिएका छौं, हामीले गुटको प्रतिवाद गरेका छौं, हामी स्थायित्वको पक्ष र अस्थिरताको प्रतिवादको निमित्त लामबद्ध भएका छौं, हामी समृद्धिको पक्षमा उभिएका छौं’, थापाले भन्नुभयो, ‘हामी राष्ट्रियताको पक्षमा उभिने कि आत्मसमर्पणको पक्षमा उभिने भन्ने आफ्नो स्थिति सिर्जना गर्न भेला भएका छौं ।’
पार्टी विभाजनमा विदेशी शक्तिको खेल रहेको भन्दै नेकपाको विभाजित समूहलाई एकतावद्ध गरेर अगाडि बढ्ने प्रतिवद्धतासमेत जनाउनु भयो ।













प्रतिक्रिया दिनुहोस्