काठमाडौं, पुस १९ । निर्वाचन आयोगले वैशाख १७ र २७ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर देशभरका मतदान केन्द्रहरु थपघट गर्ने भएको छ । मतदान केन्द्रहरुहरुको पुनरावलोकनका लागि आज आयोगको बैठक बस्दैछ ।
प्रमुख आयुक्त दिनेश थपलियाले संसदको राज्य व्यवस्था समितिले पनि यसअघि नै मतदान केन्द्र पुनरावलोकन गर्न निर्देशन दिएकाले सबै अवस्था विचार गरेर कतिपय फेरबदल हुने जानकारी दिनुभयो । उहाँका अनुसार त्यसका लागि आयोगले कार्यविधि स्वीकृत गर्दैछ ।
‘हामी मतदान केन्द्र पुनरावलोकन गर्दैछौं । कतिपय केन्द्र नजिक छन भने गाभिन्छन्, अपायक छ भने थपिन्छन्’ प्रमुख आयुक्त थपलियाले भन्नुभयो । मतदान केन्द्रको टुंगो लगाएपछि नयाँ मतदाताको नाम पठाउनुपर्ने हुन्छ ।’
२०७४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कतिपय मतदान केन्द्र अपायक भएको भन्दै संसदीय समितिले पुनरावलोकन गर्न निर्देशन दिएको थियो । उक्त चुनावमा देशभर १० हजार ६७१ स्थानमा १९ हजार ८०९ मतदान केन्द्र राखिएका थिए । यसपटक मतदान केन्द्रको संख्या बढ्न सक्ने आयोगको आँकलन छ । आयोग स्रोतले जनाएको छ । आयोगले सामान्यतः एउटा मतदान केन्द्रमा करीब १ हजार मतदाता हुनुपर्ने मापदण्ड बनाएको छ । तर भौगोलिक विकटता, जनसंख्यालाई समेत हेरेर केन्द्रहरु निर्धारण गरिने आयोगले जनाएको छ ।
आयोगले मतदान केन्द्र टुंगो लगाएसँगै थपिएका नयाँ मतदाताहरुको नाम पनि अद्यावधिक गर्ने प्रमुखनिर्वाचन आयुक्त थपलियाले बताउनुभयो । उहाँका अनुसार प्रतिनिधिसभा विघटन भएको दिन अर्थात् २०७७ पुस ५ गते रातिसम्म १८ वर्ष उमेर पुगेका र आयोगमा जिल्ला प्रशासनहरुबाट आएका नाम स्वतः मतदाता सूचीमा पर्नेछन् ।













प्रतिक्रिया दिनुहोस्