जनता टाइम्स

२३ माघ २०७७, शुक्रबार १४:२४

इश्वर पोखरेलको गर्जन : अराजकता मच्चाउने र समृद्धि रोक्न चाहने प्रतिक्रियावादी तत्वलाई पराजीत गरेरै छाडिन्छ


काठमाडौं, माघ २२ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पाँच वर्षका लागि निर्वाचित प्रधानमन्त्रीलाई बीचमै धक्का दिएर हटाउन खोज्दा अस्थिरता पैदा भएको भन्दै अहिलेको अवस्था आउनुमा प्रचण्ड र माधव नेपाल नै दोषी रहेको ठोकुवा गर्नुभएको छ । काठमाडौंको नारायणहिटी दरवार अगाडि आज आयोजित बिशाल सभामा बोल्दै नेकपाका स्थायी कमिटी सदस्यसमेत रहनुभएका पोखरेलले यस्तो घोषणा गर्नुभएको हो ।

उहाँले सबै प्रतिकुलतासँग जुधेर मुलुकमा राजनीतक स्थायित्व कायम गरेरै छाडने अठोट पनि गर्नुभयो । ‘हिजोदेखि नै कसैको मृत्यूमा आफ्नो अवसर खोज्ने प्रचण्ड प्रवृत्ति हावी भयो । त्यसलाई सघाउन कुण्ठा र ईश्र्यामा बाँचेको माधव नेपाल प्रवृत्तिको गठवन्धन भयो । त्यसको परिणाम अराजकता सिर्जना गर्ने कोसिस गरियो । तर, यो प्रयासलाई हामी सफल हुन दिने छैनौं,’ उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो ।

उहाँले हिजो बिहीवार प्रचण्ड–नेपाल पक्षले गरेको नेपाल बन्दमा एक मजदुरको ट्याक्सी जलाइएको घटनाले कडा शब्दमा निन्दा र भत्र्सना गर्नुभयो । उहाँले प्रचण्ड–माधव समुहले जलाइएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने जानकारी पनि दिनुभयो ।

‘नेपाल बन्दको नाममा जनतालाई दुःख दिने कुराको निन्दा र भत्र्सना गर्दछु । हिजो आन्दोलनका नाममा अराजकता सिर्जना गर्नेले ट्याक्सी चलाएर गुजारा गर्नेमाथि सांघातिक हमला गरियो, म मन्त्रीको नाताले यही सभामार्फत भन्न चाहन्छ,ु केपी ओली नेतृत्वको सरकारले यसको क्षतिपूर्ति दिनेछ,’ उपप्रम पोखरेलले भन्नुभयो । उहाँले स्थायीत्व दिने अभियानमा प्रचण्ड र माधवहरुको षडयन्त्र बाधक बनेपछि चुनावमा जाने ऐतिहासिक घोषणा प्रधानमन्त्रीले गर्नुभएको बताउनु भयो ।

‘हामी स्थायित्व दिन चाहन्थ्यौं, संबिधानको रक्षा गर्दै अराजकतालाई अन्त गर्न चाहन्थ्यौं, तर कम्युनिष्ट पार्टी धरासायी पार्न र अराजकता सिर्जना गर्न खोजियो,’ पोखरेलले भन्नुभयो, म यही सभामार्फत घोषणा गर्न चाहन्छु, अराजकता सिर्जना गर्ने र समृद्धि अभियानमा बाधक बन्ने त्यो प्रबृत्तिसँग जुधेर हामी बिजय हासिल गर्नेछौं ।’