काठमाडौं, माघ २८ । भारत उत्तराखण्ड राज्यको चमोली जिल्लामा गत आइतबार हिमनदी फुट्दा आएको बाढीमा परेर ज्यान गुमाउनेमध्ये १० जना नेपालीको पहिचान भएको छ । स्थानीय प्रहरीका अनुसार हिमनदी फुटेर बाढी आउँदा स्थानीय सडकमा मजदुरी गर्दै आएका १० नेपाली मजदुरको शव पहिचान भएको हो।
हिमनदी विस्फोटपछि धौलीगंगा र अलकनन्दासहितका नदीमा आएको बाढीमा परी स्थानीय सडक निर्माणमा खटिएका दर्जनौं नेपाली, भारतीय मजदुरसहित स्थानीय बासिन्दा बेपत्ता भएका थिए ।उत्तराखण्डको हरिद्वार–ऋषिकेश क्षेत्रमा नेपाली समाजमा समन्वय गरिरहेका पुष्पराज पाण्डेयका अनुसार स्थानीय रैनी र तपोवन क्षेत्रमा रहेका सडकमा कार्यरत मजदुर तथा तपोवनस्थित नेसनल थर्मल पावर कर्पोरेसनका कर्मचारी बढीजसो बेपत्ता छन् । ‘मजदुरलाई ठेकेदारले दिएको टोकन नम्बर (परिचय) का आधारमा १० नेपालीको पहिचान सम्भव भएको पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार पहिचान खुलेका मृतक कामदारहरू कालीकोट र जुम्ला जिल्लाका रहेका छन ।
‘टोकन नम्बर’ का आधारमा पत्ता लागेका मृतकमा नरेन्द्रबहादुर, गणेश नेपाली, जगतबहादुर नेपाली, प्रताप सिंह, गोविन्द सिंह, रणजित सिंह, शंकर, मकर सिंह, मदन सिंह र रमेश नेपाली छन् । पाण्डेयका अनसार विपत्तिमा परेर नेपाली श्रमिकले ज्यान गुमाएको सूचनालाई सक्दो अभिलेखमा राख्ने र सम्बद्ध परिवारलाई राहत–क्षतिपूर्ति दिलाउने कुरामा हरिद्वार–ऋषिकेशको नेपाली समाज लागिपरेको छ तर, विपत्तिपछिको हताहत स्थिति साम्य भइनसकेकाले सबै सूचना लिन र राहत–उद्धारमा समन्वय गर्न अझै मुस्किल परिरहेको छ ।’
यो विपत्तिमा परेर ज्यान गुमाउनेमध्ये मंगलबार साँझसम्ममा ३० भन्दा बढी मजदुर र स्थानीयवासीको शव फेला परिसकेको छ । बाढीमा परेर अझै १ सय ७५ जना हराइरहेका छन् । उत्तराखण्डको चमोली जिल्ला प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार हराइरहेकामध्ये ११ जना नेपाली छन । सूची सार्वजनिक भएको बाहेक पनि थप ४० जनाभन्दा बढी हराइरहेको चमोली जिल्ला विपद् व्यवस्थापन कार्यालयको कन्ट्रोलले जनाएको छ । सार्वजनिक सूचीमा तिनीहरूलाई नेपाली भनिए पनि एक जनाको मात्र ठेगाना खुलेको छ ।
हराइरहेका नेपालीहरूमध्ये तीन जना तपोवनस्थित एनटीपीसीको जलविद्युत् आयोजना, सात ऋषिगंगा जलविद्युत् परियोजनामा र एक जना रैनी गाउँमा मजदुरी गर्दै आएका थिए । तीमध्ये तपोवन आयोजनामा काम गर्ने कैलालीको टीकापुरका सोहन चौधरीको मात्र ठेगाना खुलाइएको छ । प्रहरीले जारी गरेको सम्पर्कविहीन रहेका ऋषिगंगा परियोजनामा कार्यरत ५५ मजदुरहरूको सूचीमा कतिपयको थर र ठेगाना उल्लेख नभएकाले थप नेपालीहरू बेपत्ता भएको हुन सक्ने आशंका गरिएको छ ।
उत्तराखण्डको जोशी मठ नजिक हिमनदी फुटेपछि धौलीगंगा र अलकनन्दालगायतका नदीमा बाढी आएको थियो । अलकनन्दा हिमाली क्षेत्रमा हिमपहिरोका कारण हिमनदीमा विस्फोट भएको आशंका गरिए पनि आधिकारिक रूपमा पुष्टि हुन सकेको छैन । बाढीले चमोली जिल्लाको रैनी र तपोवन क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति पुर्याएको छ । उक्त घटनामा परेर मंगलबार साँझसम्म ३२ जनाको शव फेला परेको छ । घटना भएको तीन दिन बितिसकेकाले मृत्यु हुनेको संख्या बढ्ने आशंका गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्