काठमाडौं, माघ २८ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली मंगलवार निर्वाचन आयोग पुग्नुभएसँगै देश चुनावमा होमिएकोप्रष्ट संकेत मिलेको छ । नेकपाका प्रमुख पदाधिकारी प्रधानमन्त्री ओली नै रहेको आयोगको ठहरपछि पहिलो पटक आयोग पुग्नुभएका प्रधानमन्त्री ओलीले नेकपाको निर्णयअनुसार आफ्नो हस्ताक्षर मात्रै बैधानिक हुने तथ्य राखेर चुनावमा अलमल गर्न नहुने सुझावसँगै मुलुक निर्वाचन मय बनेको हो ।
यो तथ्यसँगै अव चुनाव चिन्ह सूर्यमा पनि ओली नेतृत्वकै नेकपाको हुने प्रष्ट भएको छ ।
प्रधानमन्त्री एवं नेकपाका प्रथम अध्यक्ष ओली आयोग पुगेसँगै सूर्य चिन्हमा कसैको दावी नचल्ने प्रष्ट देखिएको छ । किनकी निर्वाचन आयोगले नै नेकपा नफुटेको, प्रथम अध्यक्ष केपी ओली नै भएको र उहाँको हस्ताक्षर बिना केही काम अगाडि बढ्न नसक्ने बताइसकेको छ । यसबाट नेकपा र चुनाव चिन्ह मूलधारकै हो भन्ने प्रष्ट भएको छ ।
मंगलबार बिहान आयोगको कार्यालय पुगेर प्रधानमन्त्री ओलीले आगामी वैशाख १७ र २७ का लागि तय चुनावको तयारीबारे जानकारी लिनुभएको हो । प्रधानमन्त्री ओलीले अहिलेसम्म चुनावका लागि भइरहेको तयारी, आगामी कार्यक्रम लगायत विषयमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुसँग छलफल गर्नुभएको थियो । सो अवसरमा प्रमुख आयुक्त थपलियाले चुनाव गराउनुको विकल्प आयोगसँग नरहेको जानकारी प्रधानमन्त्रीलाई गराउनुभएको थियो । प्रधानमन्त्री ओली र आयोगका पदाधिकारीबीच चुनावकै विषयमा केन्द्रित रहेर छलफल भएको भन्दै थापाले नेकपा विवादबारे कुरा नभएको जानकारी दिनुभयो ।
पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर वैशाख १७ र २७ का लागि चुनावको मिति तोक्नुभएको थियो । त्यसलगत्तै प्रचण्ड समूह पार्टीबाट अलग भएको थियो । सो समूह हामी नै आधिकारिक हौं, सूर्य पनि हाम्रै हो भनेर आयोग धाइरहेको छ । तर प्रधानमन्त्री आयोग पुगेसँगै प्रचण्ड माधव समुहको दावी खारेज भएको हो । सरकारले बैशाख १७ गते चार प्रदेश र २७ गते तीन ओटा प्रदेशमा निर्वाचन गराउने निर्णय गरिसकेको छ । नेकपाले यसअघि नै आयोगमा ओलीको हस्ताक्षर मात्रै बैधानिक हुन निर्णय गरेपछि ओलीकै हस्ताक्षरमा राष्ट्रियसभा सदस्यहरु निर्वाचित हुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्