काठमाडौं, फागुन १८। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गर्नुभएको छ । उहाले अबको प्रधानमन्त्री पनि केपी शर्मा ओली नै हुने दाबी समेत गर्नुभयो । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले जतिसक्दो पार्टी फुटाएर भएका सांसदहरु जोगाउनका लागि दाहाल–नेपाल समूहलाई सुझावसमेत दिनुभयो । उहाले भने,‘जतिसक्दो पार्टी फूटाएर आफ्नो समूहमा भएका सांसदहरु जोगाउनुहोस् ।’
उहाँ भोलिबाट ओली पक्षमा ९२ जना सांसद पुग्ने पनि ठोकुवा गर्नुभयो र, केही दिनभित्रै ओलीको पक्षमा ११५ जना सांसद पुग्ने पनि उहाँले बताउनुभयो । उहाँले अब नेकपा एक भएर जाने सम्भावना कम रहेको भन्दै एकताको लागि धेरै जटिलता रहेको समेत बताउनुभयो । पूर्वमन्त्रीसमेत रहेका नेता बस्नेतले सर्वोच्च अदालतको प्रतिनिधिसभा पूनःस्थापनाको फैसला आएपछि ढंग पुर्याईएन भने फेरि राजनीतिक अस्थिरता सुरु हुन्छ र विकृति सुरु हुन्छ भनेर गरिएको प्रक्षेपण क्रमशः पुष्टि हुँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो ,‘यो कुरा क्रमशः पुष्टि हुँदैछ । कतिपय पर्दाभित्र पनि देखिएको छ । आजको मितिमा प्रधानमन्त्री केपी शर्मा ओली संकटमा हुनुहुन्न, बरु उहाँलाई संकटमा पार्न खोज्ने प्रचण्ड र माधव नेपाल संकटमा परेका छन् ।’
बस्नेतले अहिले दाहाल–नेपाल समूह फ्रन्ट गियरमा नभई ब्याक गियरमा लाग्नुपर्ने अवस्थामा रहेको पनि चित्रण गर्नुभयो । उहाँले दाहाल–नेपाल समूह पुष ५ गते प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट समेत ब्याक भएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओलीले अहिले परिस्थितिको आँकलन गरिरहेकोले भोलिको दिनमा अतिरिक्त कदम चाल्नुपर्ने अवस्थापनि आउने बस्नेतको भनाई छ । उहाँले नेकपा अहिले विभाजन नभएको जिकिर गर्नुभयो । सरकारविरुद्ध अविश्वासको प्रस्ताव नआउने भएपनि प्रधानमन्त्रीसामू कसरी नैतिकताको प्रश्न आउने भन्दै उहाले उल्टै प्रश्नसमेत तेर्साएउनुभयो ।
उहाँले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सत्ताको खेलमा नलाग्ने बताउनुभयो । उता, जसपाका नेता राजेन्द्र महतोले दलको आधिकारिकता टुँगो लगाउन भनेकोले अहिले प्रचण्ड र माधव नेपाललाई सत्ता समकिरण बोकाको मुखमा कुभिण्डो भएको बस्नेतको भनाई छ । उहाँले प्रधानमन्त्री ओलीकै नेतृत्वमा नेपालको राजनीति लामो समयसम्म चल्ने समेत दावी गर्नुभयो । उहाँले भन्नुभयो ,‘अहिले पनि बल केपी ओलीकै कोर्टमा छ ।’
२०५२ सालको जस्तो संसदीय विकृति र विसंगति अहिले नदोहोरिने पनि उहाँले स्पष्ट पार्नुभयो । उहाँले नेकपाभन्दा बाहिर सत्ता समिकरण नपुग्ने पनि दाबी गर्नूभयो । उहाँले भन्नुभयो े,‘सत्ताको खेल आज नेकपाभित्रै छ । योभन्दा बाहिर छैन् ।’ भदौ २६ गतेअघिको अवस्थामा फर्किने हो भने पार्टी एकता सम्भव छ भनेर गृहमन्त्रीसमेत रहेका ओली पक्षका सचिवालय सदस्य रामबहादुर थापाले भनेको उल्लेख गर्दै उहाँले यदि त्यसो हो भने एकता हुनेपनि बताउनुभयो । तर, दाहाल–नेपाल समूहले लड्डु खाँदै २२ जना सांसद आफूहरुतिर आउने भनेर पालेको भ्रम तोडिईसकेको पनि उहाको दाबी छ ।
बस्नेतले दाहाल–नेपाल समूहले सत्ता समिकरणको लागि कांग्रेसको साथ खोज्न थालेपनि नेकपाका धेरै सांसदले प्रधानमन्त्री ओलीलाई नै साथ दिने विश्वास दिलाउनुभयो । उहाले भन्नुभयो ,‘दाहाल र नेपाल समूहका धेरै माननीयहरुले प्रधानमन्त्री ओलीलाई साथ दिनुहुन्छ । यसरी सम्पर्कमा आउनेहरुलाई हामीले सहजीकरण गर्छौं ।’
उहाले प्रधानमन्त्री ओलीले सुरक्षा थ्रेटको महुशस गरेर नै यो कुरा बोलेको दाबी समेत गर्नुभयो । उाँहले भन्नुभयो ,‘उहाँले सूचना पाएर नै सुरक्षा थ्रेटको कुरा बोल्नुभएको हो ।’ उनले विगतमा पनि नेपालमा राष्ट्रियता, विकास र समृद्धिको अभियानमा लाग्नेहरुमाथि यस्तो भएको भन्दै भीमसेन थापा, मदन भण्डारी, वीरेन्द्र शाहको वंशनाशको प्रंसग उल्लेख गर्नुभयो । त्यस्तै, उनले सुशिल कोइरालाको मृत्युपनि प्रश्नको विषय भएको सुनाउनुभयो । उहाँले प्रधानमन्त्रीमाथि सुरक्षा थ्रेट बढेको भएपनि प्रधानमन्त्रीले असुरक्षित छु भनेर नभनेको बताउनुभयो ।
उहाले प्रधानमन्त्री ओलीको विकल्प अहिले कोही पनि नभएको जिकिर गर्नुभयो । उहाँले अब ओलीका समकालिन नेतामा अन्तिम राज ओली नै गर्ने र त्यसपछि युवाहरुले हस्तक्षेप गरेर मुलुकको नेतृत्व गर्नेपनि बताउनुभयो । अब नयाँ पुस्ता जबरजस्त ढंगले आउने उहाँको विश्वास छ । उहाँले आफ्नो पुस्ताको नेता अबको १० देखि १५ वर्षभित्र प्रधानमन्त्री बन्ने पनि दाबी गर्नुभयो । उहाँले अबको केही दिनभित्रै वामदेव गौतमपनि ओली पक्षमै खुल्ने पनि खुलासा गर्नुभयो । उहाँले भन्नुभयो वामदेव गौतम जबजको व्याख्याता र केपी ओलीले नेतृत्व गरेको नेकपाको सशक्त नेता हो, अब केही दिनभित्रै यो कुरा क्लियर हुन्छ ।’
उहाले आफूहरुको साईबर सेना कुनै सुरक्षा दस्ता नभएर सूचनाको सही प्रवाह गर्ने रुपचन्द्र विष्टको थाहा अभियानजस्तै भएको स्पष्ट पार्नुभयो । र, आफूले यसको न्वारान गरेको सुनाउँदै आफू यसको सेनापति नभएको पनि बस्नेतको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्