जनता टाइम्स

२५ फाल्गुन २०७७, मंगलवार ०८:५५

देशभर एमाले कार्यालय ब्यूँतियो, धुम्बाराहीमा आज एमाले मुख्यालयको बोर्ड र ब्यानर राखिने


काठमाडौं, फागुन २५ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी एमाले र नेकपा माओवादी केन्द्रलाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन् ।

सर्वोच्च अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मान्यता नदिएपछि दुई पार्टी ब्यूँतिएका हुन् । एमालेको केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने भएको छ । एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालय रहेको थियो ।

एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारीअनुसार धुम्बाराहीस्थित एमालेको कार्यालयको नाम र साइनबोर्ड आज फेरिने छ । ‘सर्वोच्चको आदेश कार्यान्वयनका लागि हामी आजदेखि पार्टीको कार्यालयको नाम र साइनबोर्ड परिवर्तन गर्ने तयारीमा रहेका छौं,’ रिजालले भन्नुभयो, ‘मुख्यालयमा पर्सीसम्म एमाले नाम परिवर्तन गरिसक्छौँ । जिल्लास्तरमा पनि पूर्ववत एमालेको कार्यालय भएको भवनमै कार्यालय रहन्छ ।’

रिजालले जिल्लामा अहिले नै कार्यालयको नाम परिवर्तन गर्न निर्देशन नदिएको भन्दै तर सर्वोच्चको फैसलापछि जिल्लास्थित पहिलेको एमाले कार्यालयमा धमाधम साइनबोर्ड फेरिएको बताउनु भयो ।
२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गठन भएको थियो । तर त्यसअघि नै निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेकपा नामक दल दर्ता रहेकाले सोही नामको अर्को दल दर्ता गर्न नमिल्ने सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा ब्यूँताएको हो ।

पुरानै पार्टी ब्यूँताएसँगै एमाले बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेताहरु पनि प्रचण्डसँग छोडपत्र गरेर पूर्व पार्टीमै फर्किनु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध प्रचण्डसँग मिलेर अभियान चलाउनु भएको थियो । माधवकै कारण नेकपा बिभाजनमा पुगेको थियो ।