जनता टाइम्स

६ चैत्र २०७७, शुक्रबार १३:५८

प्रचण्ड–माधवलाई प्रदीप ज्ञवालीको कडा जवाफ : प्रधानमन्त्री बन्न पाइएन भने प्रतिगमन भन्ने चलन बढेर गयो


काठमाडौं, चैत्र ६

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोही व्यक्ति प्रधानमन्त्री बन्न नपाएपछि त्यसैलाई प्रतिगमन भन्ने भाष्य नेपालमा विकास भएको बताउनु भएको छ । उहाले नेपालमा सकरात्मक भन्दा नकरात्मक कुराको चर्चा धेरै हुने गरेको भन्दै प्रधानमन्त्री बन्न नपाउँदालाई प्रतिगमन भन्न नसकिने बताउनु भएको हो ।

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले भन्नुभयो, ‘हामीकहाँ निश्चित व्यक्तिको प्रधानमन्त्री बन्ने सपना पूरा भएन भने त्यसैलाई प्रतिगमन भन्ने नयाँ भाष्य विकास भएको छ ।’ उहाले पद पाउँदा अग्रगमन हुने र नपाउँदा प्रतिगमन हुने परिभाषा आउन थालेको बताउनु भयो ।

उहाले सर्वोच्चको फैसलाले यही संसदबाट समाधन खोज्नु पर्ने अवस्था आएपनि शुरूआती बैठकले सकारात्मक संकेत नगरेको स्पष्ट पार्नुभयो । ‘फागुन ११ को सर्वोच्च अदालतको संवैधानिक इजालसको फैसालपछि संसद पुनःस्थापित भएको छ,’ उहाले भन्नुभयो, ‘हाम्रो पार्टी संविधानको सर्वोच्चता र विधिको शासनमा विश्वास गर्छ । सरकारको एउटा दृष्टिकोण थियो, ताजा जनादेश उपयुक्त हुन्छ भन्ने । तर, सर्वोच्च अदालतले त्यसो गर्न नहुने निष्कर्ष निकालेको छ ।’

मन्त्री ज्ञवालीले संसदबाट समाधान खोज्न हामीलाई बाध्यतात्मक अवस्था सिर्जना भएको छ । शुरूका केही बैठक जसरी अगाडि बढे त्यसले राम्रो संकेत नगरेको उहाको भनाई छ । मन्त्री ज्ञवालीले वर्तमान सरकारले उल्लेखनीय कार्य गरेको बताउनु भयो । अल्पविकसित मुलुकको सूचीबाट स्तरोन्नतिका लागि सिफारिस हुनु, वर्षौंदेखि काठमाडौंवासीले काकाकुलले झैं पर्खिरहेको मेलम्ची आइपुगेको र केही दिनमै काठमाडौंवासीका घरका धारा धारामा पुग्नु अग्रगमन रहेको बताउनु भयो ।