जनता टाइम्स

१६ चैत्र २०७७, सोमबार ०८:११

काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण शुरु : कहाँ कुन समय आउँछ पानी (सूचीसहित)


काठमाडौं, चैत १६ । मेलम्चीको पानी काठमाडौं उपत्यकाको घरघरमा वितरण भएको छ । सुन्दरीजलबाट आएको प्रशोधित पानीलाई पिउन योग्य बनाएर महाकाँलचौरस्थित पानी पोखरीबाट वितरण गरिएको हो ।

आइतबार दिउँसो महाँकालचौरबाट चावहिल, बत्तिसपुतली, कालोपुल, देवकोटा सडक, सिफल, एयरपोर्टलगायतका क्षेत्रका घरघरमा पठाइएको छ । यसैगरी अनामनगर, मिनभवन, खुमलटारस्थित पोखरीमा भण्डारन गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मेलम्चीको पानी चार चरणमा विभाजन गरी वितरण गर्ने जनाएको छ । पहिलो चरणका आइतबार चार करोड लिटर पानी वितरण गरिएको छ । दोस्रो चरणमा महाँकाल र बालाजुको पानी पोखरीबाट ६.५ करोड लिटर दैनिक वितरण गर्ने छ ।

केयूकेएलका अनुसार तेस्रो चरणमा बाँसवारी र महाराजगञ्जको पानी पोखरी समेत गरी ८.५ करोड लिटर वितरण हुनेछ । चौथो चरणमा कीर्तिपुर, ठिमी र भक्तपुरस्थित पोखरीहरुमा समेत गरी १७ करोड लिटर पानी जम्मा हुने र ती पोखरीबाट चक्रपथभित्र र आसपासका क्षेत्रहरुमा पानी वितरण गरिने केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मीलन शाक्यले जानकारी दिनुभयो ।

एयुुकेएलले प्राप्त हुने पानीलाई वितरण तालिका तयारी गरी दैनिक वा दिन बिराएर धाराहरुमा वितरण गर्ने भएको छ । “वितरणको तालिका सम्बन्धित शाखा कार्यालयहरुको फेसबुुक, सूचना, जनसम्पर्क ईकाईमार्फत् उपलब्ध गराइएको छ, कतै पानी चुहावट भएमा, पानी नआएमा वा अन्य कुनैपनि समस्या भएमा केयुकेएल एप्स, इमेल र एसएमएसमार्फत् जानकारी दिएमा हामी तुुरुन्त प्राविधिक टोली पठाई हाल्छौं,” प्रमुख कार्यकारी अधिकृत शाक्यले भन्नुुभयो । छिटो सेवा र अनुगमनको लागि सबै शाखा कार्यालयहरुबाट र्यापिड रेस्पोन्स टिम स्थलगत रुपमा परिचालित रहेको शाक्यले जानकारी दिनुभयो ।

हाल पुुरानै वितरण पाइपलाईनबाट वितरण गरिएको छ । सँगसँगै नयाँ पाइपलाईनको परीक्षण गरी वितरण गरिने भएको छ । मेलम्चीबाट प्राप्त १७ करोड लिटर र काठमाडौँ उपत्यकाको भूमिगत पानी ८ करोड लिटर गरी जम्मा २५ करोड लिटर पानी केयुकेएलले वितरण गर्ने छ । काठमाडौँ उपत्यकामा हाल दैनिक ३४ करोड लिटर पानीको माग छ । दोस्रो परियोजना अन्तर्गत याङरी र लार्के खोलाको पानी पनि सोही सुरुङबाट ल्याएपछि दैनिक ५१ करोड लिटर पानी उपत्यकामा आउने छ । दोस्रो परियोजना सम्पनन भएपछि काठमडौँ उपत्यकाका घरमा दैनिक ६ घण्टा पानी आउने छ ।