काठमाडौं, चैत्र २२
सरकारलाई दिएको समर्थन फिर्ता गर्ने गरी बोलाइएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आइतबार विहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारका विषयमा निर्णय गरिसकेको अवस्थामा माओवादी केन्द्रले समर्थन फिर्ता गर्ने अपेक्षा गरिएको थियो । तर, बैठक नै अनिश्चितकालका लागि स्थगित भएको हो । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले केही नेताहरु काठमाडौं उपत्यका बाहिर रहेकाले बैठक स्थगित गरिएको जानकारी दिनुभयो । उहाका अनुसार बैठकको अर्को मिति तोकिएको छैन ।
यो बैठकको मिति यसअघिको अनौपचारिक छलफलबाटै तोकिएपनि नेताहरु अनुपस्थित भएको भन्दै स्थगित गरिएको छ । एक नेताका अनुसार नयाँ सरकार गठन हुने वातावरण अझै तयार नभएकाले बैठक स्थगित गरिएको जानकारी दिनुभयो । उहाका अनुसार समर्थन फिर्ता लिए मुलुक निर्वाचनमा जाने भएकाले त्यसलाई रोक्न पनि दलहरुबीच सहमति नभएसम्म फिर्ता नहुने बताउनु भयो ।
एमालेका नेताहरु भने माओवादी केन्द्र राजनीतिलाई अस्थिर बनाईराख्न र निर्वाचन पनि हुन नदिने प्रपञ्च रचिरहेको आरोप लगाएका छन् । नयाँ सरकार गठन हुनका लागि जनता समाजवादी पार्टीको अनिवार्य समर्थन चाहिने भएकाले दलहरु अलमलमा परेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भने पटक पटक माओवादीलाई सरकारलाई दिएको समर्थन फिर्ता लिन सार्वजनिक रुपमै आव्हान समेत गरिसक्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्