जनता टाइम्स

२४ बैशाख २०७८, शुक्रबार १२:१९

कोरोनाबिरुद्धको खोप र सिलिन्डर तत्कालै दिने चीनको प्रतिबद्धता


काठमाडौं, बैशाख २४ । छिमेकी मित्रराष्ट्र चीनले तत्काल केही थान अक्सिजन सिलिन्डर र कोरोनाबिरुद्धको भ्याक्सिन उपलब्ध गराउने भएको छ । बेइजिङस्थित नेपाली दूतावासका अनुसार चीनले पहिलो चरणमा दिने भनेको ३ हजार ५ सय थान अक्सिजन सिलिन्डरमध्ये ४ सय थान र १० वटा भेन्टिलेटर चार दिनभित्र दिने प्रतिबद्धता चीनले जनाएको हो ।

चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेसहितको टोलीले बिहीवार चीनको परराष्ट्र मन्त्रालयअन्तर्गतको सहयोग प्रस्ताव हेर्ने निकाय चिनियाँ इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिड्का) का पदाधिकारी र भ्याक्सिन उत्पादक सिनोफार्मका अधिकारीहरूलाई भेटेर सहयोगका लागि अनुरोध गरेको थियो ।

गत वैशाख दोस्रो साता चीन र दक्षिण एसियाका पाँच मुलुकबीच भएको भिडियो वार्तापछि चीनले नेपाललाई महामारी प्रतिरोधका लागि घोषणा गरेको ५० लाख आरएमबी बराबरको सहायताअन्तर्गत अक्सिजन सिलिन्डर पठाउने भएको हो । नेपाली दुतावासका अनुसार चीनले बाँकी अक्सिजन सिलिन्डर भने दोस्रो र तेस्रो चरणमा क्रमशः उपलब्ध गराउने बताएको छ । त्यस्तै नेपालले किन्न चाहेको २० लाख डोजमध्ये १० लाख डोज कोरोना भ्याक्सिन पनि मे महिनाभित्र उपलब्ध गराउन सक्ने चीनले बताएको हो । ‘आउँदो मे १० तारिखसम्ममा तत्काल सहायता सामग्री व्यवस्था गरिदिन चिनियाँ पक्ष सहमत भएको छ, चीनले तुरुन्तै ४ सयवटा अक्सिजन सिलिन्डर र १० वटा भेन्टिलेटर तयार गरिदिने भनेको छ,’ सिड्काका महानिर्देशक पाई पिनसँगको भेटघाटपछि राजदूत पाण्डेले भन्नुभयो ।

कोरोना महामारीका कारण विश्वका विभिन्न देशले चिनियाँ भ्याक्सिन प्रतीक्षा गरिरहेका छन् । सिनोफार्मका उपाध्यक्ष यान पिङले संसारका ६४ देशमा चिनियाँ भ्याक्सिन पुगेको बताउँदै माग अत्याधिक बढिरहेको बताउनु भयो । कोरोनाका कारण नेपालको वर्तमान अवस्थालाई ध्यानमा राखी अलिक छिटो गरिदिन नेपालको अनुरोधपछि सिनोफार्मले २–३ सातामा १० लाख डोजका लागि पहल गर्न सक्ने संकेत गरेको हो । चीनले बाँकी १० लाख डोज खोप भने जुलाईको अन्त्यसम्ममा तयार गरिदिने भएको छ । चीनले यसअघि ८ लाख डोज कोरोनाको भ्याक्सिन अनुदान सहयोग गरेको थियो ।